त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

सडकमा उत्रिए ब्राजिली जनता, समयमै खोप नल्याएको भन्दै विरोध

  •   काठमाडौं
  •   १६ जेष्ठ २०७८, आईतवार
  •   त्रिबेणी

सरकारले कोभिड १९ महामारीलाई राम्ररी व्यवस्थापन गर्न नसकेको भन्दै ब्राजिली जनता सडकमा ओर्लिएका छन् । राजधानी ब्रासिलियामा हजारौं मानिसहरुले राष्ट्रपति जैर बोल्सेनारोविरुद्ध महाभियोग लगाउनुपर्ने माग गर्दै संसद् भवन अगाडि धर्ना दिएका हुन् ।

उनीहरुले थप खोप ल्याउनुपर्ने माग गरे । रियो दे जेनरियोसहितका अन्य शहरहरुमा पनि प्रदर्शन चलिरहेका छन् । महामारीको राम्रो व्यवस्थापन गर्न नसक्दा अहिले बोल्सेनारोको लोकप्रियता घट्दो छ ।

ब्राजिलमा कोरोनाका कारण ४ लाख ६० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि सार्वजनिक ज्यान गुमाउनेमा ब्राजिल दोस्रो छ । त्यस्तै, सर्वाधिक संक्रमित भएको देशमा अमेरिका र भारतपछि तेस्रो नम्बरमा पर्छ । यहाँ १ करोड ६० लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ ।

ब्राजिलको सिनेटले महामारी व्यवस्थापन र खोप कार्यक्रमको ढिला सुस्तीबारे सरकारी कदमलाई लिएर छानविन गरिरहेका बेला शनिबारको प्रदर्शनले बोल्सेनारोमाथि थप दबाब बढेको छ ।

विपक्षी दल, मजदूर संगठनहरु र सामाजिक अभियन्ताहरुले खोप कार्यक्रम ढिला गरेको र संकटलाई बेवास्ता गरेको आरोप बोल्सेनारोविरुद्ध लगाइरहेका छन् ।

संक्रमितको संख्या धेरै हुँदा ब्राजिलको स्वास्थ प्रणाली कोल्याप्स हुने संघारमा छ ।

अति दक्षिणपन्थी नेता बोल्सेनारो लगातार रुपमा लकडाउनको विपक्षमा देखिदैं आएका छन् । कोरोना भाइरसको प्रभावभन्दा यसले अर्थतन्त्रमा पुर्‍याउने क्षति थप खतरनाक हुने उनको तर्क छ ।

ब्राजिलियामा राष्ट्रपतिको पुत्ला लिएर निस्किएकाहरुले महाभियोग, तत्काल खोप कार्यक्रम र आपतकालिन आर्थिक सहयोगको माग राखेका छन् । आदिवासी जनताको सुरक्षा गर्नुपर्ने र अमेजनको जंगल फडानी रोक्नुपर्ने माग पनि प्रदर्शनकारीहरुको छ ।

रिसिफमा बन्द रोडमा मार्चपास गर्न खोजेका प्रदर्शनकारीमाथि प्रहरीले रबर बुलेट र टियर ग्याँस प्रहार गरेको स्थानीय मिडियाले जनाएका छन् । महामारीमा ज्यान गुमाउनेहरुको संझनामा सांकेतिक क्रस चिन्ह बोकेर पनि केही शहरमा प्रदर्शन भएको छ ।