त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

विप्लव समूहले शिक्षकले १० हजार नदिंदा हत्या गरेको हुन सक्ने आशंका

  •   मोरङ
  •   २५ मंसिर २०७७, बिहीबार
  •   त्रिबेणी

  1. मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले सुराकीको आरोप लगाउँदै हत्या गरिएका शिक्षकको आज (बिहीबार) बिहान अन्त्येष्टि गरिंदै छ।

मिक्लाजुङ गाउँपालिकाको मधुमल्लास्थित बक्राहा खोलाको घाटमा दाहसंस्कार गर्ने तयारी परिवार र आफन्तले गरेका हुन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार पोस्टमार्टम गरेपछि शिक्षक राजेन्द्रकुमार श्रेष्ठको शव आफन्तले अन्तिम संस्कारका लागि बुझेर लगेका थिए। शव मिक्लाजुङ–२ स्थित घरमा लगेर राखिएको छन्। उक्त घरमा छोरा छत्रबहादुर परिवारसहित बस्थे। घर मृतक श्रेष्ठको मुल घर पनि हो। गाउँमा विद्यालय भएकाले पढाउनुपर्ने भएपछि उनी मिक्लाजुङ–१ बर्खेस्थित घरमा श्रीमतीसहित बस्थे।

अस्पतालबाट शव बुझेर लग्दै घरमा पुर्‍याएपछि रातभर आफन्त, परिवारका सदस्य र स्थानीय बासिन्दाले रुँघेर बसेका थिए। बिहान घाटमा पुर्‍याएर शवको अन्त्येष्टि गर्ने तयारी परिवारले गरेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए। उनका अनुसार राजेन्द्रको शवमा छोरा छत्रबहादुरले दागवत्ति दिनेछन्। शवको धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिसकेपछि परिवारले अन्तिम संस्कारपछि गरिने काजकिरिया सुरु गर्ने आचार्यको भनाइ छ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खे घर भएका स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको बर्बरतापूर्ण ढंगले मंगलबार बिहान हत्या गरिएको थियो। घरैबाट अपहरण गरेर लग्दै आधा घण्टा परको जंगलमा पुर्‍याएपछि आफ्नै नियन्त्रणमा राखेर ‘विप्लव’ समूहले श्रेष्ठको निर्मम हत्या गरेको हो। ‘विप्लव’ समूहले साँझ विज्ञप्ति सार्वजनिक गर्दै विगतको सशस्त्र युद्धकै झल्को दिने घटनाको जिम्मा लिएको छ।

हात बाँधेर घाँटी रेट्दै विभत्स तवरबाट मारेर फ्यालेको अवस्थामा श्रेष्ठको शव भेटिएपछि स्थानीय बासिन्दा त्रसित बनेको वडा अध्यक्ष नरबहादुर राईले जानकारी दिए। उनका अनुसार घटनापछि स्थानीय घर बाहिर निस्कन पनि डराइरहेका छन्। कसैको घरमा चुल्हो बलेको छैन। अप्रत्यासित र अपत्यारिलो घटनाले आतंकित पारेपछि सबैले असुरक्षित महसुस गरिरहेको राईको भनाइ छ।

स्थानीय बासिन्दाले एक वर्ष अगाडि मिक्लाजुङको रमितेमा सुरक्षा पोस्ट स्थापना गर्न माग गरेका थिए। पटकपटक स्थानीयले माग गरेसँगै प्रक्रिया अघि बढाइए पनि अहिलेसम्म सुरक्षा पोस्ट स्थापना हुन सकेको छैन। मिक्लाजुङको रमिते सुरक्षाकर्मीको कम उपस्थिति रहने मोरङको विकट र दुर्गम गाउँ हो।

गाउँपालिका अध्यक्ष आचार्यले नेपाल वा सशस्त्र प्रहरीको सुरक्षा पोस्ट स्थापना गर्न माग गरिएको फायल विभिन्न निकाय हुँदै गृह मन्त्रालयमा पुगेर अड्किएको बताए। ‘फायल गृह मन्त्रालयमा अड्किएको छ’, उनले भने, ‘गाउँमा हुने विभिन्न अपराधिक घटनाले सर्वसाधारण असुरक्षित बनिरहेका छन्।’ आचार्यका अनुसार सुरक्षाकर्मीको पहुँच पुग्न नसक्दा अपराधिक गिरोह चलाउने समूहलाई चलखेल गर्न सजिलो भएको र निहत्था शिक्षकको हत्यासम्मको घटना हुन पुगेको हो।

कुनै युद्ध घोषणा नगरे पनि सरकारले प्रतिबन्ध लगाएदेखि भूमिगत बनेर आफ्नो संगठन निर्माण र मजवुत बनाउन लागेको विप्लव समूहले गरेको बर्बरतापूर्ण हत्याले सबैलाई झस्काएको उनको भनाइ छ। उनका अनुसार सुरक्षा प्रदान हुन नसक्दा आफ्ना गतिविधि सञ्चालनदेखि संरचना तयार र विस्तार गर्दै उक्त घटना गराउन विप्लव समूहलाई सहज भएको अनुमान छ।

आफ्नाविरुद्ध सुराकी गरेको, नेता तथा कार्यकर्ता पक्राउ गराउनतर्फ लागेको र पार्टीका सबै गतिविधी सुरक्षा निकायलाई जानकारी गराउन थालेको पाइएपछि यो अवस्था आएको दाबी ‘विप्लव’ समूहको छ। उक्त समूहका मेची–कोसी ब्युरो इञ्चार्ज प्रतापद्धारा जारी विज्ञप्तिमा पटकपटक सचेत गराउँदा पनि नसच्चिएपछि र हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको दाबी गरिएको छ।

तर प्रहरीले भने विप्लव समूहको दाबी झुटो भएको बताएको छ। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले निसशस्त्र अवस्थामा घरमै काम गरिरहेका बेला अपहरण गरेर लग्दै शिक्षक श्रेष्ठको हत्या गरिएको बताए। उनका अनुसार घटनाको प्रकृति हेर्दा शिक्षक श्रेष्ठसँग कुनै हतियार नभएको र मृतकले प्रतिकार गर्नसक्ने अवस्था पनि नरहेको पाइएको छ। निहत्था शिक्षकको हत्या गरेर विप्लव समूहले सुराकी र हतियारसहित आक्रमणमा उत्रिएको विल्ला भिराए पनि कसैले पत्याउन सक्ने अवस्था नभएको प्रहरीको भनाइ छ।

तर मिक्लाजुङमा विप्लव समूहको सैन्य गितिविधी तीव्र भएको र संगठन एवं संरचना विस्तार सहज रुपमा गरिरहेको सूचना आएपछि प्रहरीले विशेष सर्च अभियान चलाएर गत कात्तिक १२ गते दुई जना कार्यकर्तालाई पक्राउ गरेको थियो। प्रहरीले चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भनिने काँशीनाथ घिमिरेलाई पक्राउ गरेको थियो। दुई जना पक्राउ गरिएको घटनामा श्रेष्ठले प्रहरीलाई सुकारी दिएको आरोप विप्लव समूहको छ।

तर उक्त आरोपको कतैबाट पनि पुष्टि भएको छैन। बिना कारण हत्या गरिसकेपछि उक्त समूहले त्यो आरोप लगाएको बुझाइ सुरक्षा निकायको छ। स्थानीय बासिन्दाका अनुसार विप्लव समूहका नाममा गत असारमा शिक्षक श्रेष्ठसँग १० हजार रुपैयाँ चन्दा माग गरिएको थियो। आफूसँग त्यत्रो पैसा नभएको र पाँच हजार रुपैयाँमात्रै दिनसक्ने बताएपछि चन्दा माग गर्ने समूह पैसा लिन नआएको पाइएको प्रहरीले जनाएको छ।

त्यसपछि केही नयाँ र शंकास्पद मान्छेहरुले शिक्षक श्रेष्ठको निगरानी बढाउन थालेको पाइएको घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले बताए। उनका अनुसार आफ्नो हत्यानै हुनसक्छ भन्ने आंकलन नगरेका कारण श्रेष्ठले सुरक्षा निकाय वा कोही कसैलाई घटनाका बारेमा जानकारी नगराएको हुनसक्छ। घटना भएको अघिल्लो दिनपछि मृतकको घर आसपासमा दुई जना अपरिचित व्यक्तिहरु आइपुगेका रहेछन्।

विप्लव समूहको गतिविधि भइरहने र नयाँ मान्छेहरु गाउँमा आइरहने गरेका कारण कोही कसैले वास्ता गरेनन्। तर भोलिपल्ट बिहान एउटा समूह आएर अपहरण गर्दै आधा घण्टा परको जंगलमा पर्याएर घाँटी रेटी शिक्षक श्रेष्ठको हत्या गरेको अवस्थामा शव भेटियो। चन्दावापत माग गरिएको रकम नदिँदा उनको हत्या गरिएको हुनसक्ने लख सबैले काटेका छन्। ‘चन्दा माग गरिएको र विप्लव समूहले धम्क्याइरहेको कुरा सुरक्षा निकायलाई समयमै जानकारी हुन सकेन’, एक प्रहरी अधिकृतले भने, ‘आफू असुरक्षित भए पनि भित्रभित्रै कुरा गोप्य राखिँदा आज यस्तो दर्दनाक घटना हुन पुग्यो।’

शिक्षक श्रेष्ठको हत्या भएपछि मोरङको मिक्लाजुङ र आसपासको क्षेत्रमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले सर्च अभियान जारी राखेर घटनामा संलग्नको खोजी तीव्र पारेको भए पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन्। हत्यामा संलग्न घटनास्थल वरपरबाट भागिसकेका कारण पक्राउ नपरेको हुनसक्ने अनुमान छ। घटनास्थलमा प्रहरी भएको ठाउँबाट पुग्न घण्टौं समय लाग्ने भएकाले त्यस बेलासम्म घटनामा संलग्नमा भाग्नका लागि समय मिलेको हुनसक्ने स्थानीय बताउँछन्। सुरक्षा उपस्थिति नभएको मौका छोपेर हत्या गर्दै बेलैमा त्यो ठाउँ छाडेर उनीहरु फरार भएका कारण सुरक्षाकर्मीले अहोरात्र खटेर खोजी गरेपनि सफलता पाउन नसकेको अनुमान गरिएको छ। घटना भएका दिन उर्लाबारी र मधुमल्लाबाट घटनास्थलमा पुग्न प्रहरीलाई ८ घण्टा बढी समय लागेको थियो।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जतिसक्दो चाँडो निर्मम हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई पक्राउ गर्न निर्देशन दिएका छन्। जतिसक्दो चाँडो घटनामा संलग्नलाई पक्राउ गरेर अपराध गर्दा उन्मुक्ती मिल्दैन भन्ने सन्देश सबैमा दिने हिसाबमा काम भइरहेको उनले बताए। कार्कीको निर्देशन अनुरुप मोरङ प्रहरी प्रमुख सन्तोष खड्का, डीएसपीहरु लोकदर्शन थापा, मानबहादुर राई र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको अलगअलग टोलीले चारैतिर सर्च अभियान चलाएर घटनामा संलग्नको खोजी गरिरहेको छ। एसपी खड्का आफै टोली लिएर रातभर सर्च अप्रेसनमा खटिइरहेका छन्। उनले स्थानीयलाई सुरक्षा दिने र अपराधमा संलग्नको खोजी गर्ने काम भइरहेको जानकारी टेलिफोनमा दिए।

डीआईजी कार्कीले पनि अपराध अनुसन्धानमा अनुभवी प्रहरीको विशेष टोली घटनास्थलमा खटाएका छन्। घटनामा संलग्नका बारेमा प्रहरीले केही सुराक भने फेला पारेको छ। केही प्रमाण र धेरै कुरा खुलिसकेका कारण ढिलोचाँडो जघन्य अपराधमा संलग्नलाई पक्राउ गर्न सकिने स्रोतले बतायो।

सशस्त्र प्रहरीका प्रदेश १ प्रमुख डीआईजी वंशीराज दाहालले पनि घटनामा संलग्नको खोजी, पहिचान र पक्राउका लागि ठूलो संख्यामा सशस्त्र प्रहरी घटनास्थल आसपासमा खटाएका छन्। उनले जतिसक्दो चाँडो सफलता मिल्ने गरी अप्रेसन चलाउन निर्देशन दिएर टोली खटाएका हुन्। घटनास्थलमा खटिएको सशस्त्र प्रहरीले नेपाल प्रहरीसँग सहकार्य गरेर हत्यामा संलग्नको खोजी गर्न सहयोग गरिरहेको छ।

विप्लव समूहले व्यक्ति हत्याको सृङ्खला सुरु गरेको पाइएपछि अब उसको आधार इलाकामा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। पछिल्लो घटनाले थप हिंसा बढाएर लैजानसक्ने विश्लेषण गर्दै सुरक्षा उपस्थिति बढाइएको हो। तर स्थानीय बासिन्दाले भने परेका बेला र घटना भएका समयमा मात्रै सुरक्षा उपस्थिति देखाएर सर्वसाधारण सुरक्षित हुन नसक्ने बताएका छन्। उनीहरुले स्थायी संरचना नै तयार गरेर सुरक्षाकर्मीको पोस्ट खडा गर्दै सधैं सुरक्षा दिन सरकारसँग माग गरिरहेका छन्।

त्यो क्षेत्रका प्रदेश सांसद कुलप्रसाद साम्बाले सुरक्षा माग गर्दा पनि जनतालाई प्रदान गर्न नसक्ने सरकारकै कारण दर्दनाक घटना भएको आरोप लगाए। स्थानीयले पटकपटक सुरक्षाको माग गर्दा पनि कानमा तेल हालेर बस्ने सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन नसक्नु दुःखद् भएको उनको टिप्पणी छ। तर एसपी खड्काले घटनास्थल वरपरको सुरक्षा अवस्था मजवुत बनाएर सबै नाका शिल गर्दै जंगल र ग्रामीण क्षेत्रमा विशेष सर्च अप्रेसनलाई निरन्तरता दिइराखिएको बताए।

‘प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न केही व्यक्तिहरुको विवरण खुलेको छ। पहिचान गर्दै उनीहरुलाई पक्राउ गर्न विशेष टोली खटिएको छ’, प्रहरी स्रोतले भन्यो, ‘मान्छे मार्ने नीति विप्लव समूहको देखिएकाले अब त्यत्तिकै छाड्न सक्ने अवस्था छैन। घटना घटाउनेदेखि लिएर उक्त समूहमा आवद्ध रहेका सबैलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने छ।’ त्यसका लागि विगतमा विप्लव समूहबाट बरामद भएका दस्तावेज र विभिन्न कागजपत्रको पनि सुरक्षा निकायले अध्ययन थालेका छन्। हत्यामा संलग्नलाई पक्राउ गरेपछि कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले स्रोतले बतायो।

गाउँमा विकास प्रेमी, समाजसेवी र शैक्षिक उन्नयनकर्ता भनेर शिक्षक श्रेष्ठ चिनिने गरेको स्थानीयको भनाइ छ। स्थानीय बासिन्दाका अनुसार मिक्लाजुङकै सुगम मानिने मधुमल्लामा आफ्नो घर भए पनि गाउँको विकास र त्यहाँको शैक्षिक स्तर उकास्न भन्दै शिक्षक श्रेष्ठ बर्खेमै बसेर दुःख गरिरहेका छन्। सबैको भलो चाहने र गाउँको स्तर उकास्नुपर्छ भनेर लाग्ने शिक्षकको हत्या भएपछि स्थानीयले अभिभावक एवं आफूहरुले ठूलो सहारा गुमाएको महसुस गरेको वडा अध्यक्ष राईको भनाइ छ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिक्षक श्रेष्ठको हत्या अपराधिक, अमानवीय र निन्दनीय घटना भएको बताएका छन्। उनले जतिसक्दो चाँडो घटनामा संलग्नलाई पक्राउ गरेर नतिजा देखिने हिसाबमा काम गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्। मुलुकमा समृद्धि देख्न नसक्नेले यस्तो घटना गराएको उनको भनाइ छ। मुख्यमन्त्री राईले हत्या, हिंसा तथा अराजकता जस्ता कुनै पनि कानुनविपरीतका गतिविधि सरकार र जनतालाई मान्य नहुने एवं नियन्त्रणका लागि बेलैमा उचित कदम चालिने स्पष्ट पारेका छन्।