त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

बिरामी बाक्ने एम्बुलेन्समा भेटियो गाँजा

  •   काठमाडौं
  •   १२ जेष्ठ २०७८, बुधबार
  •   त्रिबेणी

एम्बुलेन्सको काम बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो । सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अबैध लागू पदार्थ गाँजा बोक्यो भन्दा !

इलाका प्रहरी कार्यालय धरानले मंगलवार राति एम्बुलेन्समा १०० किलो गाँजासहित दुईजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो । भेडेटारबाट धरानतर्फ आइरहेको हुडेप नेपाल लेखिएको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो ।

“एम्बुलेन्सलाई शंका लागेर जाँच गर्दा पछाडी भागमा २५ केजीका चार झोलामा १०० किलो गाँजा फेला पर्योे,”उहाँले भन्नुभयो । एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा सहिदभूमी गाउँपालिका १ घर भई हाल धरान उपमहानगरपालिका –११ बस्नेत २८ वर्षीय पोषण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला अदालतबाट आज लागूऔषध मुद्दामा उनीहरूलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीले धनकुटाबाट भारतमा बेच्न लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।