त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

‘बाटो बाटोमा अध्यक्षको पगरी भिर्नेले मलाई साधारण सदस्यबाट समेत हटाए’ – ओलि

  •   काठमाडौं
  •   २९ फाल्गुन २०७७, शनिबार
  •   त्रिबेणी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेरिसडाँडाबाट रुवाबासी गर्दै विदावारी भएर हिँडेकाहरुलाई पार्टीमा आउन प्रशस्त समय मिलोस् भनेर आफूले चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको बताएका छन् ।

भृकुटीमण्डपमा शनिबार आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले ७ गतेको बैठकको जानकारी पाइएन भन्न कसैले नपाउने भन्दै सार्वजनिक रुपमा बैठकको मिति र स्थान घोषणा गरे ।

ओलीले भने– उहाँहरु पेरिसडाँडाबाट भर्खर अर्याल होटलमा आइपुग्नुभएको छ रे । एक दुई रात त्यहाँ बास बसेर आउनुहोस् भनेर चैत ७ गते बालुवाटारमा बैठक बोलाएको छु । कसैले थाहा पाइनँ नभन्नुहोला, अनुपस्थित रहँदै जानुभयो भने विधान व्यवस्थाअनुसार हुँदै जानेछ ।

माधव नेपाल पक्षले बालुवाटरमा बस्ने बैठकमा नजाने निर्णय गरिसकेको छ । एमालेको विधानमा लगातार तीनपटक बैठकमा अनुपस्थित भएमा कारवाही हुने व्यवस्था छ । ओलीले त्यसतर्फ संकेत गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफूलाई माधव नेपालहरुले तीनपटक साधारण सदस्यबाट र अध्यक्षबाट निकालेको स्मरण गर्दै ‘सक्ने भए के के गर्ने रहेछन्’ भन्ने पुष्टि भइसकेको बताए ।

ओलीले भने– बाटा बाटामा अध्यक्षको पगरी गुथेर हिडेका छन् । यिनीहरुले मलाई तीन तीनपटक अध्यक्षबाट मात्र होइन, साधारण सदस्यबाट समेत निकालेका हुन् । देख्नुभयो नि, यिनीहरुले सक्ने भए के के गर्ने रहेछन् ।