संकल्प मिडिया सेन्टरद्वारा संचालित

बरु राजनीति त्याग्न सक्छु तर म प्रचण्डकाे पक्षमा लाग्दिनँ – वामदेव

  •   काठमाडौं
  •   ११ पुष २०७७, शनिबार
  •   त्रिबेणी

पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहानै खुमलटारमा बाेलाएर आफ्नाे पक्षमा लाग्न आग्रह गरेपछि वामदेवले बरु राजनीति त्याग्छु तर प्रचण्ड सङ लाग्दिन भन्नुभएकाे हाे । ‘म तपाईं (प्रचण्ड) काे पक्षमा लाग्दिनँ, म अझैपनि पार्टी एकताकै पक्षमा छु’- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमकाे भनाइ हाे याे ।

‘म प्रचण्ड-माधवकुमार नेपाल पक्षमा लाग्दिनँ, अरू पक्षमा पनि जाँदिन म सिर्फ पार्टी एकताकाे पक्षमा छु’- वामदेवकाे भनाइ छ ।

नेकपाकाे प्रचण्ड-माधव समूहले नेताहरूलाई आफ्नाे पक्षमा लाग्न फकाइरहेकाे छ । प्रतिनिधि सभा विघटनपछि फुटेर गएकाे साे समूहले गाैतमलाई पटक-पटक आफ्नाे पक्षमा लाग्न आग्रह गरेकाे छ । तर गाैतमले अझै पनि आफू पार्टी एकताकै पक्षमा रहेकाे बताउँदै आउनुभएकाे छ ।

वामदेवलाई खुमलटार बाेलाएर प्रचण्डले आफ्नाे पक्षमा लाग्न पटक-पटक अनुराेध गर्नुभएकाे थियाे । तर वामदेवले ठाडै अस्वीकार गर्नुभएकाे उहाँका प्रेस सल्लाहकार संयाेजन विश्वमणि सुवेदीले जानकारी दिनुभयाे । प्रचण्डले उचित पद दिने भन्दै आफ्नाे पक्षमा लाग्न वामदेवलाई आग्रह गर्नुभएकाे थियाे । तर वामदेवले प्रचण्डकाे साे प्रस्ताव ठाडै अस्वीकार गर्नुभएकाे  हाे ।

वामदेवकाे भनाइ उदृद गर्दै सुवेदीले भन्नुभयाे – ‘प्रचण्ड जीले आफ्नो समूहमा आउन आग्रह गर्नुभयाे, तर वामदेवजीले म कुनै समूहमा लाग्दिन म अझैपनि पार्टी एकताकै पक्षमा छु भनेर जवाफ दिनुभयाे ।’

सुवेदीका अनुसार प्रचण्डले प्रतिनिधि सभा पुर्नस्थापना भए सदनमा र नभए पार्टीमा उचित जिम्मेवारी दिने प्रस्ताव पनि वामदेवसँग राख्नुभएकाे थियाे । तर वामदेवले अस्वीकार गर्नुभयाे । जवाफमा वामदेवले आफू प्रतिनिधि सभा विघटनकाे विपक्षमा र पार्टी एकताकाे पक्षमा रहेकाे प्रष्ट पार्नुभयाे ।

पार्टी एकता लागि सहमति र सहकार्य आवश्यक परे सम्झिन तर समूहमा लाग्ने आग्रह नगर्न वामदेवले प्रचण्डलाई सुझाव दिनुभएकाे पनि सुवेदीले जानकारी दिनुभयाे ।

नेकपाकाे संस्थापन पक्ष (केपी शर्मा ओली) मा गइसक्नुभएका रामबहादुर थापा बादललाई समेत प्रचण्डले फकाउन छाड्नुभएकाे छैन । शुक्रबार भएकाे एक कार्यक्रममा प्रचण्डले भन्नभएकाे थियाे – ‘बादल जी झुक्कीएर उता जानु भएकाे हाे, यतै आउनुहुन्छ ।’