त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

पार्टी सदस्य नै नरहेका शाहले एमाले सांसदलाई नै स्पष्टिकरण सोधेपछि

  •   काठमाडौं
  •   १६ जेष्ठ २०७८, आईतवार
  •   त्रिबेणी

नेकपा एमालेको साधारण सदस्यसमेत नरहेका सुदूरपश्चिम प्रदेशका मन्त्री प्रकाश शाहले एमालेका एक प्रदेश सभा सदस्यलाई स्पष्टिकरण सोध्नुभएको छ । एमालेको साधारण सदस्यबाट समेत निष्कासित भएका शाहले प्रदेश सभा सदस्य तथा एमाले नेता पठानसिं बोहोरासँग प्रदेश सभा संसदीय दलको नेताको हैसियतमा स्पष्टिकरण माग्दै आफै मजाकको पात्र बन्नुभएको हो ।

एमालेबाट निश्काशित भई सांसदसमेत गुमाउने अन्तिम अवस्थामा रहनुभएका शाहले जेठ १४ गतेको मितिमा काटिएको पत्रमा आज साँझ पाँच बजेसम्म बोहोरालाई स्पष्टिकरण बुझाउने समय दिनुभएको छ । शाहलाई नेकपा एमाले स्थायी कमिटीले गरेको निर्णयविपरित माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेशको मन्त्री पदमा रहेको कारण नेकपा एमालेले शुक्रबारै पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिसकेको छ । पार्टी निर्णयविपरित प्रदेश सभा सदस्य र पार्टीको सदस्यता समेत गुमाउनु भएका शाहले उल्टो एमालेका प्रदेश सभा सदस्यसँग स्पष्टिकरण माग्दै नाटक गर्नुभएको हो ।

बोहोरालाई पार्टी संसदीय दलको बैठकमा भएको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको शाहको आरोप छ । बोहोरालाई संसदीय दलको निर्णय कार्यान्वयनमा अवरोध पुर्याएको आरोप समेत लगाइएको छ । त्यस्तै प्रदेश सरकारलाई समर्थन गर्ने संसदीय दलको निर्णय विरुद्ध लागेको आरोप उहाँलाई लगाइएको छ । बोहोरालाई प्रदेश सभा संसदीय दलको निर्णयविरुद्ध अभिव्यक्ति दिने तथा अन्य प्रदेश सभा सदस्य र पार्टीलाई समेत उक्साएर पार्टी एकतालाई किन छिन्न भिन्न गर्ने काम गरेको भन्दै स्पष्टिकरण सोधिएको छ ।

पार्टी एकतालाई निरन्तर वाधा पार्ने कार्य गरी दलको एकतालाई किन बाधा पुर्याएको भन्दै उहाँलाई स्पष्टिकरण सोधिएको छ । उहाँलाई आज साँझ पाँच बजेसम्म चित्तबुझ्दो जवाफ पेश नगरेमा कारबाही गर्ने चेतावनी समेत दिइएको छ । जवकी शाह आफै माओवादीतिर लागेपछि सदस्यबाट निष्काशनमा पर्नुभएको छ । सुदुरपश्चिमका एमाले नेता कार्यकर्ताहरुले शाहको यो कामलाई मजाकको संज्ञा दिएका छन ।