संकल्प मिडिया सेन्टरद्वारा संचालित

तालिबानमाथि प्रतिबन्ध होइन अफगानिस्तानको विकासमा सहयोग गर्नुपर्छ : चीन

  •   काठमाडौं
  •   ९ भाद्र २०७८, बुधबार
  •   त्रिबेणी

चीनले अन्तर्राष्ट्रिय समुदायलाई तालिबानमाथि प्रतिबन्ध लगाउनुको सट्टा सकारात्मक विकासमा सहयोग गर्न आह्वान गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार भएको नियमित पत्रकार सम्मेलनका क्रममा अफगानिस्तानमा शान्ति र विकासका लागि विश्व समुदायले सहयोग गर्नुपर्ने बताएको समाचार संस्था एपीले जनाएको छ।

‘अन्तर्राष्ट्रिय समुदायलाई सकारात्मक दिशामा अफगानिस्तानको विकासलाई प्रोत्साहन दिनु आवश्यक छ। विश्व समुदायले अफगानिस्तानको शान्तिपूर्ण पुनर्निर्माणको समर्थन गर्नुपर्छ। जनताको भलाइका लागि सुधार गर्नुपर्ने आवश्यकता छ। अफगानिस्तानको स्वतन्त्र विकासका लागि आफ्नो क्षमता बढाउन सहयोग गर्नुपर्छ’, प्रवक्ता वाङ वेनबिनले भन्नुभयो ।

प्रतिबन्ध लगाउनुका साथै हरेक मोडमा दबाब दिनाले समस्याको समाधान नहुने भन्दै उहाँले अन्तर्राष्ट्रिय समुदायको यस्तो कार्यले स्थिति थप जटिल हुने बताउनु भयो । तालिबानहरूले काबुल कब्जा गरेपछि अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०, संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको पैसा रोकिदिएका छन्। अहिले पनि कतिपय पश्चिमा राष्ट्रहरूले तालिबानलाई आतंकवादी संगठनको जस्तो व्यवहार गर्छन्। संयुक्त राज्य अमेरिकासहित पश्चिमा शक्ति राष्ट्रहरूले अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना कूटनीतिज्ञ र नागरिक फिर्ता लगिरहेको बेला चीनले भने काबुलस्थित आफ्नो राजदूतावासले सामान्य अवस्थामा झैं काम गरिरहेको जनाएको छ।

चीनले अफगानी जनताको निर्णयको आफूले सम्मान गर्ने उल्लेख गर्दै तालिबानहरूले यसअघि गरेको प्रतिवद्धताअनुसार वार्ताका माध्यमबाट खुला र समावेश सरकार बनाउने अपेक्षा पनि व्यक्त गरेको छ। चीनको मुस्लिमबहुल प्रान्त सिन्जियाङसँग सीमा जोडिएको अफगानिस्तानमा तालिबानहरूले प्रभाव बढाउँदै लगेपछि यसअघि नै चीनले उसका अधिकारीहरूलाई बोलाएर छलफल गरेको थियो।