त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

खेलकुदको बजेट २ अर्ब ७४ करोड

  •   काठमाडौं
  •   १६ जेष्ठ २०७८, आईतवार
  •   त्रिबेणी

सरकारले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्। यस पटक खेलकुदमा पहिलेभन्दा २८ करोड बजेट बढेको छ। चालू आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउने अर्थमन्त्री पौडेलले बताएका छन्। सो रंगशाला दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसैगरी मोरङको बैजनाथपुर, काठमाडौंको मूलपानी, रूपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगन्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

१६८ स्थानीय तहमा खेल ग्राम स्थापना गर्न रकम आवश्यक बजेट छुट्ट्याइएको छ भने आगामी वर्ष पोखरा रंगशाला निर्माण सम्पन्न गरिने बजेट भाषणमा उल्लेख छ। यस्तै गण्डकी प्रदेशमा नवौैं राष्ट्रिय खेलकुद आयोजनाका लागि पनि बजेट विनियोजन गरिएको छ।

यसैगरी, सक्रिय खेल जीवनबाट अलग भएका खेलाडीलाई व्यवसाय सञ्चालनका लागि सहुलियतमा कर्जा उपलब्ध गराउने भएको छ। यस्तै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री पौडेलले जानकारी दिएका छन्।