त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको बाँकी खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा

  •   काठमाडौं
  •   १३ जेष्ठ २०७८, बिहीबार
  •   एजेन्सी

कोरोना भाइरसको दोस्रो लहरको महामारी सुरु भएपछि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको बाँकी खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को उच्च स्रोतको हवाला हिँदै भारतीय सञ्चार माध्यमले आईपीएलका बाँकी खेल यूएईमा आयोजना गर्ने अभियानमा बीसीसीआई लागेको जनाइएको छ। यसको अन्तिम निर्णय भने शनिबार बस्ने बीसीसीआईको बैठकले गर्ने जनाइएको छ।

बीसीसीआई सेप्टेम्बर १९ वा २० तारिखदेखि बाँकी खेल सञ्चालन गर्ने अभियानमा लागेको जनाइएको छ।

बीसीसीआईले बाँकी रहेको ३१ खेल २१ दिनभित्र सक्ने योजना बनाएको छ। बीसीसीआईको योजनाअनुसार १० दिन दुई खेल सञ्चालन हुनेछ। यस्तै सात दिन एक खेल हुनेछ। त्यसपछि प्लेअफका तीन र फाइनल खेल हुनेछ। फाइनल खेल अक्टोबर १० मा गर्ने योजना बीसीसीआईले बनाएको छ। यूएईका आबुधावी, शारजहा र दुबईमा खेल सञ्चालन हुनेछ। आईपीएलका बाँकी खेल सञ्चालन गर्न यसअघि श्रीलंकाले पनि चासो देखाएको थियो।

प्रतियोगिताको २९ वटा खेल सकिँदा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ। दिल्लीले आठ खेलमा १२ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेग्लोरको समान १० अंक छ। चेन्नई र बेंग्लोरले समान सात खेल खेलेका छन्।

खेलाडीहरूमा कोरोना भाइरसको संक्रमण देखिएपछि बीसीसीआईले मे १० मा अनिश्चितकालका लागि आईपीएल स्थगित गरेको थियो। बीसीसीआईले प्रतियोगिता सुरु हुनुअघि सबै सुरक्षा मापदण्ड अपनाएको र ‘बायो बबल्स’ मजबुद रहेको दाबी गरेको थियो। तर, त्यसका बाबजुद पनि प्रतियोगिताको २९ वटा खेल मात्र सञ्चालन हुन सकेको थियो।

पाकिस्तान सुपर लिग (पीएसएल) पनि यूएईमै आयोजना हुने भएको छ। पाकिस्तान क्रिकेट बोर्डले बाँकी रहेका २० खेल यूएईमा आयोजना गर्ने भएको हो। पीएसएलका बाँकी सबै खेल आबुधावीस्थित सेख जायद स्टेडियममा हुनेछ। पीएसएलका खेल जुन एकबाट सुरु गरेर २० जुनमा सम्पन्न गर्ने तयारी पाकिस्तान क्रिकेट बोर्डको छ। पीएसएलको छैटौं संस्करण फेब्रअरी २० मा सुरु भएको थियो। कोरोना संक्रमणको दर उच्च भएपछि ३ मार्चमा स्थगित गरिएको थियो। यसबीचमा ३४ मध्ये १४ खेल मात्रै सञ्चालन हुन सकेको थियो। पीएसएलमा ६ टोली सहभागी छन्।

भारत र पाकिस्तानका फेन्चाइज क्रिकेट मात्र होइन, भारतमै आयोजना हुने त भएको टीट्वान्टी विश्वकप पनि यूएईमै आयोजना हुने सम्भावना बढेको छ। भारतमा अहिले कोरोनाको दोस्रो लहर चलिरहेको छ। वैज्ञानिकहरूले निकट भविष्यमै तेस्रो लहर पनि सुरु हुने चेतावनी दिएका छन्। त्यसैले अक्टोबर र नोभेम्बरमा तय भएको टीट्वान्टी विश्वकप भारतमा आयोजना हुने सम्भावना अत्यन्तै कम छ।