संकल्प मिडिया सेन्टरद्वारा संचालित

अध्यात्मिक युवा र परिवर्तन

  •   पनौति
  •   २ भाद्र २०७८, बुधबार
  •   दिक्षा थापा

बाल्यअवस्था देखि युवाअवस्था सम्म आउदा अध्यात्म के हो भनेर विस्तारै बुझदैछु । सायद अध्यात्म के हो भनेर सबैले नबुझेर नै होला जब शरिर कमजोर हुन्छ ,जब मैले दुख पाउछु तब यस बाटोमा हिडौला भन्ने सोच आएको हुन् सक्छ |

धेरैको मानिसको मनमा प्रश्न यहि हुन्छ कि ?
भजन गाउने,धार्मिक ग्रन्थहरुको अध्ययन गर्ने समय नै कहाँ छ र ? धेरैले त यस बाटोमा हिड्नका लागी सबै सम्बन्ध, सम्पत्ति र साधारण जिवन शैलीमा गरिने गतिविधिहरुलाई त्याग गर्नुपर्छ भन्ने पनि सोच्नुहुन्छ त्यसैले यस बाटोमा हिडनका लागी अघि सर्नु हुन्न तर वास्तवमा अध्यात्म यस्तो ज्ञानको ज्योती हो जसलाई कुनै शब्दमा बखान गरेर यसको महत्व बुझाउन सकिदैन यो ज्ञान त केवल स्वप्रयोग द्वारा मात्र थाहा पाउन सकिन्छ । आफुलाई जान्ने विज्ञान नै अध्यात्म हो |

हरेक व्यक्ति आज खुशाीलाई पाउनका लागी दिनरात खटिरहेका छन । एउटा विद्यार्थी आफनो स्कुल जिवन सकेपछि रमाउने कल्पना गरिराखेको हुन्छ त्यस्तै कोही सम्पत्ति आर्जन गरेसी वा सफलता हासिल गरेसी म खुसी हुन्छु भन्ने आशामा भागदौड गरिराखेका हुन्छन । एकपल्ट सोचौ त के हामी उक्त चिज प्राप्त गरेसी खुशी हुन सक्छौ त ? सक्दैनौ किनभने खुसी त प्रेममा लुकेको हुन्छ र जब सम्म हामी प्रेम गर्न जान्दैनौ तब सम्म हामीले खुशी हासिल गर्न सक्दैनौ ।हामी अरुबाट केही अपेक्षा राख्छौ भने त्यो प्रेम हुदैन त्यो त मोह हुन जान्छ र त्यहि मोहले गर्दा धेरै समस्याहरु निम्ताउने गर्दछ । अध्यात्मले निःस्वार्थ प्रेम गर्न र वर्तमानमा रमाउन सिकाउछ । अध्यात्मले समस्याबाट भाग्न होइन दैनिक जिवनमा आउने समस्या र चुनौतीहरुको सामना गरि अगाडि बढाउन सिकाउछ ।

अध्यात्मिक हुनका लागी सरल लुगा लगाउनु पर्ने , भोको बस्नु पर्ने, भगवानका बारेमा पढनु पर्ने वा अरुलाई भगवानका गाथाहरु सुनाउनु पर्ने,आदि कार्यहरु गर्नु पर्छ भन्ने होइन यस्ता कार्यले आध्यात्मिक यात्रालाई सरल बनाउन मद्दत गर्दछन तर यहिनै अध्यात्म चाँही होइन । केहि समय भजन गर्दा आध्यात्मिक साधना सत्संग, धर्म ग्रन्थहरुको अध्ययन आदि गर्ने ब्यक्तिहरु मात्र आध्यात्मिक हुन् भन्न पनि मिल्दैन यो त हरेक व्यक्तिको रोजाईको कुरा हो | सकारात्मक सोच, असल कर्म र ब्यबहार नै अध्यात्मको पहिचान हो |

साधारणतया हेर्ने हो भने कुनै कार्यलयमा काम गर्ने कर्मचारी आफ्नो कार्यालमा प्रवेश गर्दा उसले सहायक कर्मचारीलाई गर्ने अभिबादन र कार्यालय प्रमुख लाई गर्ने अभिबादनमा नै फरक आउने गर्दछ किनभने आज व्यक्ति मानिसको शैक्षिक स्तर, सम्पति, अहोदाहरुको आधारमा व्यवहारहरु गर्ने गर्दछन तर आध्यात्मिक शिक्षाले एक रुपताको व्यबहारका बारेमा पाठ सिकाउछ| म एक शान्त र प्रबित्र आत्मा हु र अरुपनि एक पवित्र आत्मा हो भन्ने अनुभूति आध्यात्मले गराउदछ |

सकारात्मक सोच, पवित्रतता, शान्ती ,खुसी ,निःस्वार्थ प्रेमहरुको विकास हुनुनै आध्यात्मिक रुपले अगि बढनु हो । अध्यात्मले व्यक्तिलाई शान्त र सृजनशिल बनाउन मद्दत गर्दछ ।
हरेक युवाहरु सृजनशिल भएमा समाज कँहा बाट कँहा पुग्छ कल्पना गरौ त । हरेक युवाले म चुनौतीको सामना गर्न सक्छु र म भित्र पनि धेरै क्षमताहरु छन ती क्षमताको पहिचान गरि समाजमा केही योगदान दिन्छु भन्ने सोच्नुभयो भने आजका युवाहरुले हिजोको इतिहास पढने मात्र होइन इतिहास रच्न पनि सक्छन । युवाअवस्थामा केही काम गर्ने सोच ,जोश ,जागर भएको हुन्छ यो समयलाई उपयोग गर्न सकेमा हिलोमा कमलको फुल फक्रेको जस्तै चुनौतीका बिच जिवन मौलाउन सक्छ ।

अध्यात्मले अरुलाई देखाउनका लागी राम्रो हुने भन्दा पनि आफु स्वंय आफ्ना लागी राम्रो कसरी बन्ने भन्ने बारेमा अभ्यास गराउछ । युवाहरुको आध्यात्मिक मागले भोली समाजमा अर्को भगवान राम, बुद्दहरुको जन्म दिन सक्छ ।