त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

अध्यक्ष ओलीको माधव समुहलाई आग्रह : कसैलाई कतैबाट निकालेको छैन, पार्टी बैठकमा आउनुहोस्

  •   काठमाडौं
  •   २९ फाल्गुन २०७७, शनिबार
  •   त्रिबेणी

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई ठेगान लगाउन होइन पार्टी बनाउन आउन माधव नेपाल समुहलाई अपिल गर्नुभएको छ । उहाले केन्द्रीय कमिटीको बैठक चैत्र ७ गते बालुवाटारमा बोलाएको भन्दै सहभागी हुन आग्रह गर्नुभयो । यद्यपी उहाले निरन्तर बैठकमा अनुपस्थित भए विधानअनुसार हुने जानकारी पनि गराउनु भयो ।

१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘पेरिसडाँडाबाट रुवाबासी गर्दै हिँड्नु भएको थियो रे । केही दिन अर्याल होटलमा बास बस्नु भएको छ रे । प्रशस्त समय रहोस् भनेर ७ गते बैठक बोलाएको छु । २०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु, केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला । अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’

माधव नेपाल आफै अध्यक्ष बनेर आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भनेपनि आफूले कसैलाई कतैबाट ननिकालेको उहाले स्पष्ट पार्नुभयो । तर पार्टीको कामलाई अगाडि बढाउन केही नेताहरुलाई जिम्मेवारी दिइएको भन्दै उहाले अरु नेताहरु आएपछि सल्लाह गरेर अगाडि बढ्ने बताउनु भयो ।

अध्यक्ष ओलीले आफुविरुद्ध षडयन्त्र गर्न आएको त्यसले सफलता प्राप्त नहुने भन्दै पार्टी बनाउन एमालेमा आउन अपिल गर्नुभयो । ‘केपी ओलीलाई ठेगान लाउन आउँछौं’ भनेको सुनेको भन्दै आफूले त्यो कुरा ‘खुट्टी देख्दै पत्याएको’ र त्यसो गरे ‘बाटैमा खुट्टामा ठेस लाग्ने’ बताउनु भयो । उहाले समय छँदै मेहनत, पसिना, बल, बुद्धि खर्च गर्न आग्रहसमेत गर्नुभयो ।