संकल्प मिडिया सेन्टरद्वारा संचालित

एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त : निर्मला हत्या प्रकरण छानबिनमा लापरवाही गरेको आरोप

  •  
  •   ८ कार्तिक २०७५, बिहीबार
  •  

८ कात्तिक काठमाडौं । सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ ।
निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा गृहमन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा दुबैलाई बर्खास्त गरिएको बताएको छ ।
तात्कालीन कञ्चनपुर प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख रहेका इन्स्पेक्टर भट्टले निर्मला हत्या प्रकरणको अनुसन्धानमा लापरवाही गरेको भेटिएको थियो । विष्ट भदौ १० र भट्ट ३१ गते निलम्बनमा परेका थिए ।
आफ्नो लापरवाही नभएको दाबी गर्दै आएका विष्ट र भट्टलाई पछिल्लो पटक सरकारी छानबिन समितिले प्रहरीको लापरवाही भएको रिपोर्ट दिएपछि पटक पटक स्पष्टीकरण सोधिएको तर स्पष्टीकरण नभएको ठहर गर्दै गृह मन्त्रालयले प्रहरी नियमावलीअनुसार एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गर्ने निर्णय भएको मन्त्रालयकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घटनमा प्रहरीबाट चरम लापरवाही भएको, बालिका हराएको खबर आएपछि तत्काल खोजतलास नगरेको, बलात्कार तथा हत्यासँग सम्बन्धी प्रमाणहरु भित्री वस्त्र पानीमा चोपल्नु, यौनाङ्ग तथा तिघ्रा पखाल्ने, कपडाहरु हराएको, गैर व्यवसायिक र गैरजिम्मेवारपूर्ण व्यवहार गरी अनुसन्धानमा पालना गर्नुपर्ने सामान्य कानुनी व्यवस्थासमेत पालाना नभएको पाइएको छ । नेपालमा नभएका मृतकका बाबुको दस्ताखत गराइएको तथा मृतकको शव जनाउन अनावश्यक दबाव दिएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीकै व्यवहार र कार्यशैलीका कारण आम नागरिक र पीडित परिवारका सदस्यहरु प्रहरीको काम कारबाहीप्रति विश्वस्त हुन नसक्ने गरी गम्भीर लापरवाही गरेको ठहर गर्दै प्रहरी हेडक्वार्टरले एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति