संकल्प मिडिया सेन्टरद्वारा संचालित

९ महिनामा ३४ प्रतिशत मात्र पुँजीगत खर्च, विकासमा धिमा गति

  •  
  •   २ बैशाख २०७६, सोमबार
  •  

काठमाडौं- चालू आर्थिक वर्षको पहिलो ९ महिना अवधिमा सरकारले अघिल्लो आर्थिक वर्ष २०७४/७५ कै तुलनामा मात्र बजेट खर्च गर्न सकेको देखिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा सरकारले १ खर्ब ८ अर्ब ९६ करोड रुपैयाँ बराबर पुँजीगत खर्च गरेको थियो। चालू आर्थिक वर्षको सोही अवधिमा पनि मुलुकको कुल पूँजीगत खर्च १ खर्ब ९ अर्ब रुपैयाँ बराबरमात्रै रहेको अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ।
दुई तिहाइसहितको सरकारले पूँजीगत खर्चमा अघिल्ला आर्थिक वर्षका तुलनामा निकै छलाङ मार्ने अपेक्षा गरिएपनि वास्तविकता भने वास्तविकता भने अघिल्ला सरकार भन्दा फरक नभएको देखिएको छ।
गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा करीब २ खर्ब रुपैयाँ बढीको बजेट ल्याएको सरकारले खर्च प्रणालीमा भने सुधार गर्न नसकेको देखिएको हो।
चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब १७ अर्ब रुपैयाँ पुँजीगततर्फ छुट्याएको थियो। यसरी छुट्याईएको रकम चैत मसान्तसम्ममा १ खर्ब ९ अर्ब अर्थात् पूँजीगततर्फ कुल विनियोजित बजेटको करिब ३३ प्रतिशत मात्रै हो।
यसरी हेर्दा सरकारले चालु आर्थिक वर्षको अन्तिम ३ महिना अर्थात् बैशाख, जेठ र असारमा मात्रै ६६ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था देखिएको छ।
चालु खर्चमा पनि अघिल्लो आर्थिक वर्षका पहिलो ९ महिना र चालु आर्थिक वर्षको सोही अवधिमा खासै फरक देखिएको छैन।
अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनाको अवधिमा चालु खर्चतर्फ ४ खर्ब ९१ अर्ब ३० करोड रुपैंया बराबर खर्च भएको थियो। यस आर्थिक वर्षको सो अवधिमा ४ खर्ब ६६ अर्ब रुपैयाँ खर्च भएको देखिन्छ।
यो चालु आर्थिक वर्षमा चालु खर्चतर्फ विनियोजन भएको बजेटको ५५ दशमलव १३ प्रतिशत बराबर हो।