संकल्प मिडिया सेन्टरद्वारा संचालित

२ गोल गरेर रियललाई हारबाट जोगाएका ग्यारेथ बेललाई रेडकार्ड !

  •   काठमाडौं
  •   १६ भाद्र २०७६, सोमबार
  •   एजेन्सी

ग्यारेथ वेलले दुई गोल गरेको खेलमा रियल मड्रिडले स्पेनिस लिगमा भिल्ला रियलसंग बराबरी खेलेको छ । आईतबार राति भएको खेलमा रियलले भिल्ला रियलसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । रियलका लागि दुवै गोल ग्यारेथ वेलले गरे ।

खेलको अन्तिम समयमा दुई पहेलो कार्ड खाँदै मैदान छाड्नु अघि वेलले रियललाई एक अंक दिलाउन सफल रहे । खेलको १२ औ मिनेटमा जेरार्ड मोरिनोको गोलबाट भिल्ला रियलले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको ईन्जुरी समयमा वेलले बराबरी गोल फर्काएका थिए ।

गोमेज बर्डोनाडोले ७४ औ मिनेटमा गोल गर्दै पुन घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेल सकिन चार मिनेट बाँकी छदाँ वेलले व्यक्तिगत गोल गर्दै रियललाई हारबाट जोगाएका थिए । तर ईन्जुरी समयमा उनी रातो कार्ड खादै मैदान बाहिरिन पुगे ।

दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको रियलले थप गोल गर्न भने सकने । टोनी क्रुसका केही राम्रा प्रहारलाई भिल्ला रियलका गोलकिपरले निराश पारिदिएका थिए । साथै करिम बेन्जिमाको गोललाई रेफ्रीले अफसाईड करार गरेका थिए ।

वेल दुई गोल गरेर मैदान छाड्ने रियलको ईतिहासमा दोस्रो खेलाडी बनेका छन् । यसअघि क्रिस्टियानो रोनाल्डोले ला लिगामा दुई गोल गरेर सोही खेलमा मैदान छाड्न परेको ईतिहास छ ।

बराबरीको नतिजासंगै रियल तालिकाको पाँचौ स्थानमा उक्लियो । भिल्ला रियलभने १६ औ स्थानमा उक्लिएको छ ।