संकल्प मिडिया सेन्टरद्वारा संचालित

२७ उद्योगलाई कारबाहीको तयारी, कुन कुन परे ?

  •  
  •   १३ कार्तिक २०७५, मंगलवार
  •  

पुष्पराज अधिकारी
हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा उद्धेश्य विपरित उद्योग सञ्चालन गर्ने र जग्गा लिएर उद्योग सञ्चालन नगर्ने २७ उद्योगलाई व्यवस्थापन कार्यालयले कारबाहीको प्रकृया सुरु गरेको छ ।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सार्वजनिक सुचना जारी गर्दै उद्धेश्य विपरित उद्योग सञ्चालन गर्ने ५ वटा उद्योगलाई जरीवाना सहीतको कारबाही र बर्षौंदेखि जग्गा लिएर उद्योग सञ्चालन नगरेका २२ उद्योगलाई सम्झौता रद्दगर्ने सम्मको कारबाहीको प्रकृया सुरु गरेको हो । व्यवस्थापन कार्यालयले उद्धेश्य विपरित उद्योग सञ्चालन गर्ने भविष्य मैदा मिल, सुजल डेरी ईन्डष्ट्रिज, सुजल फुड प्राली, बानियाँ मल्टी प्रोडक्ट इण्डष्ट्रिज प्रालिलाई ५०हजार जरीवाना गरेको छ भने त्रिशक्ति पोली प्याक्स उद्योगलाई २० हजार जरीवाना गरेको छ । भविश्य मैदा मिलले २०७३ माघ १ गतेदेखि लागु हुने गरी मैदा, आँटा, सुजी उत्पादन गर्नका लागि संझौता गरी १२.८८ रोपनी जग्गा बहालमा लिएको थियो । तर, सो जग्गामा उद्देश्य विपरित बेबी बाइप्स उत्पादन गर्दै आएको छ ।
यस्तै सुजल डेरी र सुजल फुडले २०६७ असोज १० गते जग्गा बहालमा लिएपनि हालसम्म उद्योगले पूर्वाधार निर्माण समेत सुरु गरेको छैन । कार्यालयले ३५ दिन भित्र उद्योग निर्माणको काम गर्न र ६ महिनाभित्र उत्पादन शुरु गर्न निर्देशन दिएको छ । भने बानियाँ मल्टी प्रडक्ट इण्डष्ट्रिज प्रालिले २०७३ भदौ ३ गते संझौता गरेपनि उद्योग सञ्चालन नगरी बहुराष्ट्रिय कम्पनी युनिलिभरलाई सामान स्टोर र भण्डारण गर्न छुट्टै भाडामा लगाउँदै आएको छ ।
यसैगरी त्रिशक्ति पोलि प्याक्सले पनि युनिलिभरलाई भण्डारणको लागि उद्योगको भवन भाडामा लगाउँदै आएको छ । कार्यालयले दुबै उद्योगलाई १ महिना भित्र ती सामान हटाउन र ३ महिना भित्र उद्योग सञ्चालन नगरे संझौता रद्द गर्ने जनाएको छ ।
यसैगरी, खारेजी अवस्थामा रहेको हेटौंडा कपडा उद्योग परिशर र विस्तारित नयाँ औद्योगिक क्षेत्र भित्र जग्गा बहालमा लिई तोकिएको म्याद भित्र निर्माण कार्य नगरेका १४ वटा संस्थालाई ३५ दिन भित्र कारखाना भवन र आवश्यक भौतिक संरचना निर्माणको नक्सा पेश गर्न सार्वजनिक सूचना जारी गरिएको छ । कार्यालयले सन रे इनर्जी, नाथ फुड इण्डष्ट्री प्रालि, नेशलन स्ट्र. ई.प्रालि, सनराइज कम्पनी प्रालि, सी एभरेष्ट प्रालि, हेटौंडा रबर उद्योग, फार्मर एग्रो सेन्टर, मदरल्याण्ड एग्रिकल्चर प्रालि, एपेक्स फुटवेर ईण्डष्ट्रिज, नेपाल प्लाल्टिक, अविनास एग्स प्रालि, टीएसएल प्लास्टिक, यिवाईएस प्रालि र न्यू मकवानपुर फुड इण्डष्ट्रिजका नाममा सूचना जारी गरेको छ । यी उद्योग प्रतिष्ठानले ६ महिनाभित्र उद्योग सञ्चालन नगरेमा संझौता रद्द गरिने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
२०६३ साल बैशाख १५ गते संझौता गरेको ग्लोबल राइटिङ्ग सिस्टम्स प्रोडक्ट्सले ६ रोपनी जग्गामा भवन निर्माण गरेपनि हालसम्म उद्योग सञ्चालनमा ल्याएको छैन । अन्तिम मौका स्वरुप ६ महिनाभित्र उद्योग सञ्चालन नगरेमा संझौता रद्द गरिने कार्यालयले जनाएको छ । यता, पाठक फुड्स प्रालि र ग्रिन गोल्ड प्रालिलाई ३ महिनाको समय दिने र सो अवधिमा पनि उद्योग सञ्चालनमा नल्याए संझौता रद्द गरिने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । पाठक फुड्सले २०७३ माघ ५ गते र ग्रीन गोल्डले २०६७ असोज १ गते संझौता गरेपनि हालसम्म उद्योग सञ्चालन भएको छैन ।
कार्यालयले ती उद्योगहरुलाई ३५ दिनदेखि ३ महिनाभित्र सम्झौता अनुसारको उद्योग सञ्चालन गर्न समेत निर्देशन दिएको छ । यसैगरी कार्यालयले बर्षौंदेखि औद्योगिक क्षेत्रको जग्गा लिएर उद्योगका लागि पूर्वाधार समेत नबनाएका उद्योगहरुलाई ६ महिनाभित्र पूर्वाधार तयार गर्न निर्देशन दिएको छ । उक्त समयसिमाभित्र उद्योग प्रतिष्ठानले काम नगरे सम्झौता रद्द हुनेगरी कारबाही गरिने हेटौंडा औद्योगगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख नेपाल भुषण बैद्यले बताउनुभयो ।
यता उद्योगी व्यवसायीहरु भने हेटौंडा औद्योगिक क्षेत्रको कारण उद्योग सञ्चालनमा आउन नसकेको बताउँदै आएको छ । उद्योग पूर्वाधार निर्माण र सञ्चालनको लागि आवश्यक पानी तथा बिद्युतको व्यवस्था समयमै नगरेको कारण उद्योगीहरु उद्योग सञ्चालन गर्न नसकेको र भवन बनाईसकेका उद्योगिहरुपनि फरक किसीमका उद्योग गर्दै आएको उद्योग संघ हेटौंडाले जनाएको छ ।
#cp-janatasamachar