संकल्प मिडिया सेन्टरद्वारा संचालित

१० कट्ठा जमिनमा हजार बोट मेवा, वार्षिक कमाइ २० लाख !

  •   काठमाडौं
  •   ३० बैशाख २०७६, सोमबार
  •   त्रिबेणी

१० कट्ठा जमिनमा एक हजारवटा मेवाका बोट छन् । ४ देखि ५ फिट मात्र उचाइका सबै बोटमा ठूल्ठूला मेवा फलेका छन् ।बोटले थाम्नै नसक्ने गरी मेवा फलेकाले बारीमा गएर अवलोकन गर्ने जोकोही अचम्ममा पर्छन् । हरेक बोटमा कम्तीमा ५ वटा मेवा फलेको छ । औसतमा एउटा मेवाको तौल १ किलो ७ सय ग्राम छ ।मेचीनगर नगरपालिका–९ मागुरमाडीका किसान डिल्लीराज उप्रेतीले गत जेठमा लगाएको मेवा खेतीले यतिवेला मनग्य आम्दानी दिन थालेको छ । उप्रेतीले दुई सातायता प्रत्येक दुई दिनमा अढाई क्विन्टल मेवा बिक्री गरिरहेका छन् ।

५० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको उनले सुनाए । ‘अहिले १० कट्ठामा मात्र मेवा खेती छ, अब चाँडै डेढ बिघा जग्गा भाडामा लिएर खेती बढाउँदै छु,’ बारीमा मेवा टिप्दै गरेका उप्रेतीले भने, ‘एकपटक लगाएको मेवाको बिरुवाले कम्तीमा दुई वर्षसम्म निरन्तर उत्पादन दिन्छ ।’सामान्यतया खोला बगरमा मात्र फल्ने खरबुजा पनि उनले मेवाका बोटको फेदमै फलाएका छन् । खरबुजाभन्दा पहिले उनले मेवाको फेदमा सयपत्री फूलको खेती गरेका थिए । तिहारमा उनले साढे ४ लाख रुपैयाँको सयपत्री बिक्री गरे । खरबुजा को उत्पादन सकिएपछि फेरि सयपत्री रोप्ने योजनामा छन्, उप्रेती ।

‘मेवासँगै अरू उत्पादन पनि गर्न सकिन्छ, खरबुजा र सयपत्री पालैपालो उत्पादन गर्छु म,’ उनले भने, ‘खरबुजा लहरामा फल्ने हो, मेवालाई सेप लाग्दैन ।’१० कट्ठा जमिनबाट ६ लाख रुपैयाँको मेवा बेच्ने उनको लक्ष्य छ । रोपेको ६ महिनामा मेवा फल्न थाल्ने र ८ महिनामा पाक्ने उनले बताए । कृषिमा प्रशस्तै सम्भावना रहेकाले युवाले रोजगारीको खोजीमा बिदेसिनु नपर्ने उप्रेती बताउँछन् । नौ वर्षसम्म परदेशमा पसिना बगाएर नेपाल फर्किएपछि उप्रेतीले आफ्नो डेढ बिगाहा जमिनमध्ये एक बिगाहामा कागती, फलफूल तथा विभिन्न प्रजातिका रूखका बिरुवा लगाए ।

पछि तिनै बिरुवा बेच्न सुरु गरे । हाल उनको वार्षिक कमाइ २० लाख रुपैयाँभन्दा बढी छ । ‘वार्षिक झन्डै ६ लाख रुपैयाँको त कागती नै बेच्ने गरेको छु,’ उनले भने, ‘यही कृषि कर्मले मलाई परिचित बनाएको छ ।’ कृषि कर्मसँगै निजी वनको संरक्षण, संव द्र्धन र जैविक विविधतामा योगदान पुर्‍याएको भन्दै उनलाई निजी वन राष्ट्रिय सान्त्वना पुरस्कारसमेत प्रदान गरिएको छ ।गत जेठबाट उप्रेतीले हाइटेक नर्सरीसमेत सुरु गरेका छन् । उनले एक कट्ठा जग्गामा सुरु गरेको हाइटेक नर्सरी मेचीनगर नगरपालिकाकै पहि लो हो । नेपाल सरकारको ९ लाख अनुदान र व्यक्तिगत ३ लाख रुपैयाँ गरी १२ लाख रुपैयाँ लगानीमा उप्रेतीले हाइटेक नर्सरी सुरु गरेका थिए ।

हाइटेक नर्सरीमार्फत उच्चतम प्रविधिबाट जुनसुकै वेला धेरै मूल्यका कृषिजन्य उत्पादन गरी बिक्री गर्न सकिने उप्रेतीले बताए ।केही वर्षअघि विदेशबाट फर्केपछि कृषि कर्ममा लागेका उप्रेतीले डी एन्ड डी बायोप्लानटेक नामक संस्था दर्ता गरेर तरकारी तथा फलफूल को नर्सरी व्यवसाय गर्दै आएका छन् । कृषि पेसा सुरु गरेदेखि नै उप्रेती अर्गानिक कृषि उत्पादन गरिरहेका छन् । उनी आफैँ जैविक मलसमेत उत्पादन गर्छन् । उत्पादन हुने गड्यौँले मल उनी स्थानीय किसानलाई समेत बिक्री गरिरहेका छन् । गड्यौँले मल उत्पा दनका लागि उनले छुट्टै मल घर बनाएका छन् ।

उनी कागतीसहित तेजपत्ता, मेवा, तरकारी, मलेसियन साल, टिकलगायतका बिरुवा उत्पादन गर्छन् । उन्नत जातका तरकारीका बिरुवा पनि उत्पादन गर्दै बिक्री–वितरण गर्ने गरेको उनले बताए । उनले हुर्काएको बिरुवा झापा मात्र होइन, छिमेकी जिल्ला मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङसम्म निकासी भइरहेको छ । बिरुवा बेचिसकेपछि २ वर्षसम्म त्यसको रेखदेखको जिम्मा उनी आफैँ लिन्छन् । बेचिसकेको बिरुवा मरेमा अर्को बिरुवासमेत उपलब्ध गराउने उनी प्राविधिक सेवासमेत उपलब्ध गराउँछन् । उत्पादनपछिको बजारको अवस्था, उत्पादित वस्तुको मूल्य, ग्रेडिङ, प्याकेजिङलाई व्यवस्थित गर्न सके यो पेसाबाट जीवन परिवर्तन गर्न सकिने उनको अनुभव छ ।