संकल्प मिडिया सेन्टरद्वारा संचालित

सांसद निरुदेवी पाल प्रकरणः अनुसन्धानका लागि एसपी जोशिको नेतृत्वमा समिति गठन

  •  
  •   १८ श्रावण २०७५, शुक्रबार
  •  

साउन,१८ काभ्रे । सांसद निरुदेवी पाललाई पेस्तोल देखाएर तर्साएको घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको नेतृत्वको ३ सदस्यीय टोली गठन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले घटनाको सत्यतथ्य अनुसन्धानका लागि टोली गठन गरेको एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । टोलीमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्ले र परिसर काठमाडौंका इन्सपेक्टर सुरेन्द्र केसी सदस्य छन् । मंगलबार साँझ दुध किनेर फर्कँदै गरेको अवस्थामा आफूलाई अपरिचित व्यक्तिले पेस्तोल देखाएर तर्साएको सांसद पालले विहीबार संसद वैठकमा सभामूखको ध्यानाकर्षण गराएकी थिइन् । काठमाडौं प्रहरीले बिहीबार नै ९२ जनालाई आशंकामा पक्राउ गरेको थियो । परिसरका एसएसपी पोखरेलले भने,‘‘पक्राउ परेकामध्ये १६ जनामात्रै प्रहरी नियन्त्रणमा छन्, अरुलाई छाडिएको छ,उनीहरुमाथी अनुसन्धान हुँदैछ ।” एसएसपी पोखरेलले घटनालाई गम्भीरतापूर्वक लिएको बताउँदै अनुसन्धान टोलीलाई अनुसन्धानका लागि आवश्यक पर्ने सबै अधिकार प्रयोग गर्न निर्देशन दिइएको बताए । कञ्चनपुरकी एमाले नेतृ पाल समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन् ।