संकल्प मिडिया सेन्टरद्वारा संचालित

सरकारको कामकारबाहीबारे समीक्षा शुरु

  •  
  •   १९ भाद्र २०७५, मंगलवार
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाहीबारे समीक्षा शुरु भएको बताउनु भएको छ । जनताको तहमा देखिएको असन्तुष्टि समयमै हल गर्नुपर्ने प्रचण्डको भनाइ छ ।
‘जनताको तहमा छाएको निराशा र असन्तुष्टिबारे हामी दुवै अध्यक्ष गम्भीर छौँ,’ प्रचण्डले भन्नुभयो, ‘हाम्रा बीचमा यो विषयमा गम्भीर छलफल शुरु भएको छ । आम जनताले सरकारबाट राखेको अपेक्षा पूरा गर्न सरकारको भूमिका र संचरनाका बारेमा के कसरी जाने भन्ने विषयमा गम्भीर ढंगले छलफल भइरहेको छ । हाम्रो मुख्य जोड जनतामा छाएको असन्तुष्टि हल गर्दै हामीले लिएको बाटोतर्फ देशलाई अघि बढाउने हुने छ ।’ अध्यक्ष प्रचण्डले समीक्षाबाट प्राप्त निष्कर्षलाई पार्टीभित्र समेत छलफल गरी सरकारको प्रभावकारिता बढाउने दिशामा गम्भीर र ठोस कदम चालिने समेत बताउनुभयो ।
भ्रमण सम्बन्ध सुधार केन्द्रित
अध्यक्ष प्रचण्डले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीन भ्रमण गर्न लागिएको बताउनु भएको छ ।
आफ्नै निवास खुमलटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकाले थप वातावरण निर्माण गर्न भ्रमण गर्न लागिएको बताउनु भयो । ‘दुबै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रित रहनेछ,’ उहाँले भन्नुभयो, ‘अध्यक्षका नाताले दुवै देशबाट निम्तो आएपछि भ्रमणको कार्यतालिका बनेको हो, मैले छिमेकी देशहरुसँग विगतमा भएको सहमति कार्यान्वयन र सरकारलाई सहयोग गर्ने विषयमा छलफल गर्नेछु ।’
भदौभित्रै पार्टी एकता
अध्यक्ष प्रचण्डले पार्टी एकताको ऐतिहासिक महान् अभिभारा भदौसम्म पूरा हुने बताउनु भयो । तल्लो तहदेखि माथिसम्म एकताका लागि गठन भएको कार्यदलले प्रतिवेदन बुझाइसकेको बताउनु हुँदै अध्यक्ष प्रचण्डले पार्टीको स्थायी समिति र सचिवालयको बैठकले यसको अन्तिम टुंगो लगाउने बताउनुभयो । ‘तल्लो कमिटीमा कुनै समस्या भएर एकीकरणमा ढिलाई भएको होइन,’ उहाँको भनाइ थियो, ‘एकताका लागि गठित कार्यदलहरुले प्रतिवेदन दिएका छन्, ठूलो पार्टी भएको अवस्थामा देखिने सामान्य असन्तुष्टिसमेत व्यवस्थापन गर्ने गरी यसको टुंगो यही महिनाभित्र लगाइने छ ।’ अध्यक्ष प्रचण्डले पार्टी एकतापछि पार्टीले नयाँ गति लिने समेत बताउनु भयो ।
नयाँ संरचनाको अभ्यास नपुग्दा समस्या
पछिल्ला दिनमा स्थानीय तहदेखि केन्द्रीय सरकारको भूमिकाबारे प्रश्न उठिरहेको विषयमा राखिएको जिज्ञासाबारे अध्यक्ष प्रचण्डले समग्र राजनीतिक परिवर्तनपछिको अवस्थाको अहिले नै संश्लेषण गर्न नसकिने बताउनुभयो । देशमा विगतको संरचना नरहेको र नयाँ संघीय, समानुपातिक र समावेशी राज्य संरचनाको निर्माण भएको परिवेशमा यसले पूर्ण कार्यान्वयनमा आउन समय लाग्ने उहाँको जिकिर थियो । अध्यक्ष प्रचण्डले हरेक परिवर्तनपछि पुराना शक्ति र नयाँ चाहने शक्तिबीच जहिल्यै पनि संघर्ष चर्किने बताउनु हुँदै स्थानीय तहमा केही समस्या देखिए पनि कैयन् सकारात्मक पक्ष समेत रहेको बताउनुभयो । ‘कैयन् ठाउँमा केही समस्या देखिएका होलान तर नयाँ संरचनाको अभ्यासका क्रममा यो स्वाभाविक हो । यो सँगै विकासको लहर समेत जागेको कुरा पनि बिर्सिनुहुँदैन । स्थानीय तहमा अहिले हाम्रा लागि केही गरौँ भन्ने भावना विकास भएको छ । यसको परिणाम दीर्घकालमा देखिन्छ,’ प्रचण्डको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले संघीयता र समावेशी चरित्रको राज्यसत्ताको स्वामित्व र अपनत्वबोध गर्ने विषयमा सबै पक्षको समान बुझाइ र अनुभूति नरहेको कारणले समेत कतिपय अवस्थामा समस्या आउने कुरामा समेत जोड दिनुभयो ।
सरकार र संरचनाबारे पुरै नकारात्मक चित्रण गर्ने समय आइनपुगेकामा अध्यक्षले विशेष जोड दिनुभयो । ‘अहिले विश्लेषणसम्म ठीकै छ, तर यो कुरै बेठीक भनेर संश्लेषण नै गर्ने अवस्थामा हामी पुगेको छैनौँ,’ अध्यक्षले भन्नुभयो, ‘हिजो संघीयता, समानुपातिक समावेशिलगायतका विषय सैद्धान्तिक बहसमा थिए र त्यही अनुरुपको संविधान बन्यो, तर अब यसबारे व्यवहारमा वास्तविक बहस शुरु भएको छ । यसैले अहिले नै संघीयता बेठीक या धर्म निरपेक्षता बेठीक भनेर ठोकुवा गर्ने बेला भएको छैन ।’
सामाजिक मूल्यमा ह्रास–ठूलो चिन्ताको विषय
अध्यक्ष प्रचण्डले नेपाली समाजका कतिपय सांस्कृतिक, व्यवहारिक तथा नैतिक मूल्यमा देखिएको विचलनप्रति चिन्ता व्यक्त गर्नु भयो । पछिल्लो दिनमा महिलामाथि बढिरहेको हिंसातर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले समाजको नैतिक मूल्य विचलन भएको त हैन भन्ने प्रश्नसमेत उठाउनुभयो । भन्नुभयो, ‘हाम्रो समाजमा किन यस्तो प्रवृत्ति फैलियो, किन समाज हिंसात्मक भयो र विचलन हुँदैछ भन्ने विषयमा सबैले सोच्नु जरुरी छ । सरकार या नेता विचलन भए त अरु खोजौँला तर समाज नै विचलन भएर स्खलित भए त्यो माथि उठाउन निकै गा¥हो पर्छ । यो कुरामा मिडियाले समेत गम्भीरतापूर्वक सोच्न जरुरी छ ।’
#जनता समाचार बाट साभार