संकल्प मिडिया सेन्टरद्वारा संचालित

संघीयता भारतीय डिजाइनमा : मोहनविक्रम

  •  
  •   ३० आश्विन २०७५, मंगलवार
  •  

बिर्तामोड : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले संघीयताले मुलुकलाई राष्ट्रिय विखण्डनको स्थितिमा पुर्‍याउने दावी गरेका छन्। सोमबार झापाको बिर्तामोडमा पत्रकारसँग महामन्त्री सिंहले नेपालका लागि संघीयता हितकर नरहेको दावी गरेका हुन्।
 
सिंहले नेकपा मसालले संविधान, गणतन्त्र, लोकतन्त्र र चुनाव सबैको समर्थन गररहे पनि संघीयताको कहिल्यै पनि समर्थन नगर्ने घोषणा समेत गरे। ‘अब राष्ट्रिय जनमोर्चाले संविधान संशोधन प्रस्ताव संसदमा लैजाने छ र संघीयताको विरोध गर्ने छ।’ सिंहले संघीयता नेपालको हितमा नभएकाले संविधान संशोधन गरी खारेज गर्नुपरन् बताए।
नेपालका कांग्रेस र वामपन्थी दलहरूले समेत संघीयता माग नगरेको अवस्थामा भारतीय डिजाइनमा यो छिरेको उनको दावी छ। ‘नेपाललाई टुक्र्याएर भारतमा एक एक प्रदेश गरेर विलय गर्न भारतलाई सहज हुन्छ, त्यसैले भारतको ग्र्यान्ड डिजाइनमा नेपालमा संघीयता आएको हो’, महामन्त्री सिंहले भने, ‘चीन नभएको भए नेपाल अहिले नेपाल नभई सबै भारत भइसक्ने थियो।’ संघीयता जताबाट हेरे पनि नेपालका लागि आवश्यक नभएको तर्क गरे।
प्रादेशिक संरचनाले स्थानीय तहको अधिकार कमजोर पार्ने उनको भनाई छ। ‘यसले राष्ट्रिय विखण्डनको स्थितिमा पुर्‍याउँछ र राष्ट्रियतामाथि गम्भीर खतरामा पुर्‍याउँछ’, उनले भने। वर्तमान सरकार दक्षिणपन्थी संगठनवादीहरूको एउटा संगठनले बनेको आरोप लगाउँदै यो सरकाले नागरिकको हितमा काम गर्नै नसक्ने दावी गरे।
एमाले र माओवादी मिलेर बनेको नेकपा पार्टी नभएर दक्षिणपन्थी संगठनवादीहरूको संगठन भएको उनले ठोकुवा गरे। ‘सरकार त्यही संगठनले चलाएकाले जनताको हितमा छैन’, उनले भने। फरक प्रसंगमा नेपाललाई हिन्दू राष्ट्र बनाउन भारतीय जनता पार्टीले नेपालका नेताहरूलाई दबाब दिइरहेको उनले दाबी गरे।
महामन्त्री सिंहले पत्रकारलाई अडियो र फोटो बाहेक भिडियो रेकर्ड गर्न भने दिएनन्