संकल्प मिडिया सेन्टरद्वारा संचालित

श्रीलंकाविरुद्धको टी-२० सिरिजमा न्युजील्याण्डको विजयी सुरुवात

  •   काठमाडौं
  •   १६ भाद्र २०७६, सोमबार
  •   त्रिबेणी

न्युजील्याण्डले श्रीलंकाविरुद्धको टी-२० खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा न्युजील्याण्डले ५ विकेटले जित हासिल गरेको छ । श्रीलंकाले दिएको १७५ रनको लक्ष्य पछाएको न्युजील्याण्डले १९.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

न्युजील्याण्डका लागि रोज टेलरले सर्वाधिक २९ बलमा ४८ रन बनाए भने ग्राण्डहोमले २८ बलमा ४४ रन बनाएका थिए । त्यस्तै डारयल मिचेलले २५, मिचेल सान्टनरले १४, टिम सेइफेर्टले १५ र मार्टिन गप्टिलले ११ रन बनाएका थिए ।

श्रीलंकाका बलर लासित मालिंगा र वानिन्दु हसरंगाले २-२ विकेट लिए भने अकिला धनन्जयले एक विकेट लिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको घरेलु टिम श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाउदै १७४ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुसल मेन्डिसले सर्वाधिक ७९ रन बनाएका थिए । त्यस्तै निरोसन डिकवेलाले ३३, दासुन सानकाले १७, उसुरु उदानाले १५, कुसल परेराले ११ र आविष्का फेर्नान्डोले १० रन बनाएका थिए ।

न्युजील्याण्डका बलर टिम साउथीले २ विकेट लिए भने मिचेल सान्टनरले एक विकेट लिए । यो जितसँगै तीन खेलको टी-२० सिरिजमा न्युजील्याण्ड १-० ले अगाडी भएको छ । सिरिज अन्तर्गतको दोस्रो टी-२० मंगलबार हुने छ ।