संकल्प मिडिया सेन्टरद्वारा संचालित

रोल्पाको सुलीचौरमा गोली चल्यो, एकजना युवाको मृत्यु

  •  
  •   २४ भाद्र २०७५, आईतवार
  •  

(लिबाङ) रोल्पा :  रोल्पाको सुलीचौरमा गोली लागेर एक युवकको आइतबार बेलुका मृत्यु भएको छ । रोल्पा नगरपालिका–२ सिमलबाङका २९ वर्षीय रोहित पुनको गोली लागेर मृत्यु भएको हो । उनको देब्रे छातीमा गोली लागेको छ ।
पुर्वी रोल्पाको सुलीचौर इलाका प्रहरी कार्यालय नजिकैको रेष्टुरेन्टमा गोली चलेको हो । भर्खरै खुलेको रेष्टप्वाइन्ट रेष्टुरेन्टमा गोली चलेको हो । पुनको देबे्र छातीबाट गोली छिरेको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरकी इन्चार्ज डा. प्रकृति भट्टराईले बताइन् ।
‘घटनालगत्तै स्वास्थ्य केन्द्रमा ल्याएका थिए । ब्लड पे्रसर र पल्स नाप्दा नै अवस्था नाजुक थियो’, डा. भट्टराईले भनिन्, ‘स्वास्थ्य चौकीमा ल्याइ पुर्‍याउँदा मृत्यु भइसकेको थियो ।’ बेलुका पौने पाँच बजे घटना भएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए । गोली पुनको छातीमा भित्र नै रहेको छ ।
गोली लागेको छातीमा घाउ रहे पनि पछाडिको भाग नछेडेकाले शरीर भित्रै रहेको आशंका गरिएको छ । रेष्टुरेन्टभित्रै गोली चलेपछि त्यस क्षेत्रमा त्रास पैmलिएको छ । मारिएका युवकको शव जिल्ला अस्पताल रेउघामा पोष्टमार्टम गरिने छ ।
गोली चलाएको आरोपमा रोल्पा नगरपालिका–१० धबाङका देववहादुर घर्तीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।
प्रनाउ खड्काका अनुसार उनको साथबाट एकथान कटुवा पेस्टोल बरामद भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी प्रमुख खड्का सूचना पाएलगत्तै लिबाङबाट सुलीचौर पुगेका छन् ।

मृत्यु हुने पुन रोल्पा नगरापालिकाका तरुण दलका ईन्चार्ज हुन् । प्रशासनका अनुसार रिसबाङका एक युवकको हत्या घटनामा जिल्ला कारागारमा कैदी रहेका पुन सरकारले माफी दिएपछि करिव एक वर्षअघि जेलमुक्त भएका थिए ।
गोली प्रहारको आरोपमा पक्राउ परेका घर्तीपनि विभिन्न घटनामा कारागारमा कैद भुक्तान गरी निस्किएको सुरक्षा स्रोतले जनाएको छ । घटनाको अनुसन्धान जारी छ । रिसइवीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ ।  घटनामा संलग्न केही युवा फरार रहेको प्रहरीले जनाएको छ ।
#annapurnapost.com बाट