संकल्प मिडिया सेन्टरद्वारा संचालित

रियल मड्रिड आएकोमा पछुतो छैन: लोपेटेगी

  •  
  •   १९ भाद्र २०७५, मंगलवार
  •  

१९ भदौ, काठमाडौं । रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगीले विश्वकप अगाडि नै टिमको बागडोर सम्हालेकोमा आफूलाई पछुतो नरहेको बताएका छन् । विश्वकपको संघारमा रियल मड्रिड सम्हाल्न गएपछि उनी स्पेनको प्रशिक्षक पदबाट बर्खास्त भएका थिए ।
स्पेनको फुटबल महासंघले विश्वकपभन्दा केही दिन अगाडि मात्रै उनलाई जिम्मेवारीबाट मुक्त गरेको थियो । ‘मलाई आफ्नो निर्णयमा कुनै पछुतो छैन, यदि यस्तो अवसर आयो भने फेरि पनि छोड्दिन’ लोपेटेगीले भने ।
उनले मड्रिडलाई २१ औं शताब्दीको उत्कृष्ट टिमको संज्ञा दिए । स्पेनको प्रशिक्षक हुनुभन्दा यसमा फरक अनुभव गरिरहेको उनको भनाइ छ ।
स्पेन टिममा पुनरागमन गर्ने सम्भावनालाई खारेज गरे । लोपेटेगीले भने, ‘मड्रिड टिमलाई प्रशिक्षण दिएर म एकदम खुशी छु । हाम्रो सामु ठूलो चुनौति छ, गजबको लक्ष्य छ र मलाई धेरै आशा छ कि लुइस इनरिकले स्पेनको टिमलाई राम्ररी अघि बढाउनेछन् ।’
उनले आफू सदा स्पेनको समर्थन गर्ने बताए । तर, आफ्नो ध्यान भने अब मड्रिडमै रहने उनको भनाइ थियो । ‘म पछाडि फर्किन चाहन्न, म केवल वर्तमानमा आफ्नो ध्यान केन्द्रित गर्न चाहन्छु,’ उनले भने ।
उनले आफू कसरी मड्रिडमा आवद्ध भएँ भनेर व्याख्या गर्न चाहेनन् । विश्वकपमा स्पेनको खराब प्रदर्शनको विषयमा पनि बोलेनन् ।
स्पेन टिमबाट बिदा हुँदाको क्षणबारे प्रश्न गर्दा उनले भने, ‘अन्यत्र जस्तो हुन्थ्यो त्यस्तै हो । मैले सबैलाई गुड बाई भनेँ । यो क्षण भावुक र अप्रत्याशित थियो । यो हाम्रो जीवनको एउटा अंग नै हो ।’
रियल मड्रिडमा आवद्ध भएपछिको अनुभव शेयर गर्दै उनी भन्छन्, ‘हामीले विश्वकप टिममा नभएका खेलाडीहरुलाई लिएर १५ अगष्टबाट सुरु गर्‍याैं । मैले फुटबलबारे आफ्नो दृष्टिकोण उनीहरुलाई बताएँ । केही खेलाडीहरुलाई मैले पहिलेदेखि नै चिनेकाले सजिलो भयो ।’
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले टिम छोड्नुअघि आफूलाई नभेटेको पनि रियल मड्रिडका लोपेटेगीले बताएका छन् । ‘मैले उसँग कुरा गरिनँ । उसले पहिल्यै छोड्ने निर्णय लिइसकेकाले कुरा गर्नुको औचित्य पनि थिएन’ उनले भने ।
रोनाल्डोको बहिर्गमनका बाबजुद टिम शक्तिशाली नै रहेको उनी बताउँछन् । कोउर्टोइस र नाभासबीचको लडाईका विषयमा उनले दुवैसँग खेल्ने मौका रहने बताए ।