संकल्प मिडिया सेन्टरद्वारा संचालित

राजपामा अध्यक्ष मण्डल नरहने, वैधानिकता जोगाउन विधान संशोधन

  •  
  •   ५ जेष्ठ २०७६, आईतवार
  •  

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने निर्णय गरेको छ।
जेठ २ गतेदेखि जारी पार्टीको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले अब अध्यक्षीय प्रणालीमा जाने निर्णय गरेको हो। ‘धारा ३१(१२) मा यसअघि महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था गरेकोमा अब उपरान्त महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा अगाडि बढ्ने व्यवस्था गरिएको छ,’ बैठकपछि आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
यसअघि पनि अध्यक्षीय प्रणाली अपनाउने कि अध्यक्ष मण्डललाई निरन्तरता दिने विषयमा पार्टीभित्र बहस हुँदै आएको थियो।
त्यस्तै, महाधिवेशन गरिसक्ने समयावधि पनि बढाइएको छ। निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा एक वर्षभित्र महाधिवेशन गरिसक्ने भनिएकोमा यसअघि त्यसलाई बढाएर ३ वर्ष बनाइएको थियो। ‘धारा ३१(१०) मा यसअघि पार्टीको महाधिवेशन २ वर्षभित्र गरिनेछ भनिएकोमा अहिले समयावधि बढाएर ३ वर्षभित्र गरिने भनिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष मण्डलको संयोजक भोलिदेखि परिवर्तन हुने भएका छन्। पार्टीले केही महिनायता अपनाइरहेको चक्रिय प्रणालीअनुसार सोमबारदेखि अनिलकुमार झाले नयाँ संयोजकको जिम्मेवारी सम्हाल्नेछन्।