संकल्प मिडिया सेन्टरद्वारा संचालित

राजपाका दुई केन्द्रीय सदस्य किर्ते प्रकरणमा पुर्पक्षका लागि कारागार चलान

  •  
  •   ६ जेष्ठ २०७६, सोमबार
  •  

राजविराज- किर्ते उपभोक्ता समिति गठन प्रकरणमा पक्राउ परेका राजपा नेपालका दुई केन्द्रीय सदस्यलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ।
सोमबार भएको मुद्दा सुनुवाइका क्रममा बिपी यादव र हरि मण्डललाई कारागार पठाउने आदेश भएको हो।
बैसाख ५ गते पक्राउ परेका छिन्नमस्ता गाउँपालिका मोहनपुर निवासी यादव पूर्वसासंद समेत हुन्। उनी रातो पासपोर्ट दुरुपयोग काण्डमा पनि मुछिएका थिए। राजगढ गाउँपालिका ३ नर्घो निवासी अर्का केन्द्रीय सदस्य मण्डल स्थानीय शान्ति समितिका पूर्व संयोजक हुन्।
यसैगरी, सोही आरोपमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई ४ लाख र निर्माण सामग्री आपूर्तिकर्ता दिलीपकुमार दास र रापाका स्थानीय नेता रमानन्द ठाकुरलाई जनही दुई लाख ५० हजार धरौटीमा रिहा गरिएको छ।
यादव र मण्डलसहितको संलग्नतामा अग्निसाइर कृष्णसवरण गाउँपालिकाको लेटरप्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरिएको आरोपमा प्रहरीले सबैलाई पक्राउ गरी मुद्दा चलाएको थियो।
प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रकम निकाल्न किर्ते उपझोक्ता समिति गठन गर्न छाप किर्ते गरिएको प्रहरीको भनाइ छ।