संकल्प मिडिया सेन्टरद्वारा संचालित

यस्तो लक्ष्य लिएर अपरान्ह चिनियाँ परराष्ट्रमन्त्री विशेष विमानमा काठमाडौ अवतरण

  •   काठमाडौं
  •   २२ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी

लामो समयदेखि नेपालका प्रधानमन्त्री मात्रै नभई मन्त्री वा नेताहरु पनि चीन भ्रमणमा जाँदै आएका छन् । तर अब चीनबाट नै नेपालमा उच्च स्तरीय भ्रमण हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँन लाग्नु भएको छ ।

वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका लागि आउन लाग्नु भएको हो । चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङ पाकिस्तानको इस्लामाबादमा शनिबार आयोजना हुने त्रिपक्षीय अफगानिस्तान–पाकिस्तान–चीन विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी हुनु भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङबीच सोमबार द्विपक्षीय समझदारी र सहकार्यका विषयमा छलफल हुने अधिकारीहरूले जानकारी दिनुभयो । वार्तामा नेपाल–चीनबीच दुईवटा समझदारी आदानप्रदान हुनेछ ।

भूकम्पपछि चीनले दिएको सहयोगको समीक्षा हुनेछ । यस्तै तातोपानी र केरुङ नाकाका अध्यागमनको सहजता, भौतिक संरचना, टिमुरेमा बनाउने ड्राइपोर्ट, रेलमार्ग निर्माण प्रक्रियामा भइरहेको प्रगतिका विषयमा छलफल हुनेछ । उहाँसँगै १९ सदस्यीय चिनियाँ टोली नेपाल आउँन लागेको हो ।

काठमाडौंमा वाङको व्यस्त कार्यसूची
परराष्ट्र मन्त्रालय स्रोतबाट नेपालखबरले प्राप्त गरेको विदेशमन्त्री वाङको तीन दिने औपचारिक भ्रमण कार्यतालिका अनुसार भदौ २२ गते, आइतबार अपरान्ह ४ः २० बजे उनी विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन्।

काठमाडौंमा करिब ४५ घण्टा रहने विदेशमन्त्री वाङ सोल्टी क्राउन प्लाजा होटलमा बस्नेछन्। वाङले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधिमण्डल १५ सदस्यीय रहेको छ र काठमाडौंमा उनका अधिकांश भेटवार्ता र औपचारिक दुई पक्षीय बैठक भदौ २३ गते सोमबारलाई राखिएको छ।

भदौ २३ गते, सोमबारः राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
आइतबार काठमाडौं उत्रेपछिको साँझ र सोमबार बिहान वाङको कार्यक्रम के छ भन्ने परराष्ट्र मन्त्रालयको कार्यसूचीमा खुलाइएको छैन। संभवतः यो समय चिनियाँ दूतावासले गर्ने ब्रिफिङ र आयोजना गर्ने गतिविधिमा उनी सहभागी हुनेछन्।

सोमबार दिउँसो ३ः३० बजेदेखि ४ः३० बजेसम्म वाङले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधिमण्डल र उनका समकक्षी प्रदीप ज्ञवालीले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलबीच होटल याक एण्ड यतीमा दुई पक्षीय वार्ता हुनेछ। त्यसलगत्तै दुई पक्षीय प्रतिनिधिबीचमा केही सम्झौताहरूमा हस्ताक्षर हुँदैछ।

सोमबार साँझ ५ बजेदेखि ५ः४५ बजेसम्म, ४५ मिनेट वाङको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको निवास बालुवाटारमा भेटवार्ता गर्ने छ। त्यसपछि विदेशमन्त्री वाङको टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शितल निवास जाने कार्यक्रम छ। राष्ट्रपति भण्डारीसँग वाङले बेलुकी ६ बजेदेखि ६ः४० बजेसम्म, ४० मिनेट भेटवार्ता गर्नेछन्।

भदौं २४ गते, मंगलबारः प्रचण्ड र देउवासँग भेट
भदौ २४ गते मंगलबार चीनका विदेशमन्त्री वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

अध्यक्ष दाहालसँग बिहान ९ बजेदेखि ९ः३० बजेसम्म आधा घण्टा भेटवार्ता गरेपछि वाङको टोलीले देउवासँग ९ः३० बजेदेखि १० बजेसम्म आधा घण्टा भेट्ने कार्यसूची तय भएको छ। वाङले दाहाल लगत्तै देउवासँग भेटने समय तय गरिएपनि परराष्ट्र मन्त्रालयको कार्यक्रममा भेट्ने स्थान खुलाइएको छैन। वाङको प्रतिनिधिमण्डल भदौ २४ गते, मंगलबार दिउँसो १ बजे विशेष विमानबाट चीन फर्कने कार्यक्रम छ।