संकल्प मिडिया सेन्टरद्वारा संचालित

मैत्रीपूण फुटबल खेलमा अटाएनन् विमल घर्ती मगर र भरत खवास

  •  
  •   ६ जेष्ठ २०७६, सोमबार
  •  

काठमाडौं– जेठ तेस्रो साता हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले राष्ट्रिय टिम घोषणा गरेको छ। नेपालका प्रशिक्षक योहान कालिनले मलेसिया र चाइनिज ताइपेईविरुद्ध खेल्ने राष्ट्रिय टिम घोषणा सोमबार गरेका हुन्।
२३ सदस्यीय टिममा युवा फरवार्ड विमल घर्तीमगरसहित केहि चर्चित अनुहार छैनन्। टिमबाट विमलसहित हेमन गुरुङ, हेमन्त थापामगर र दिनेश राजवंशी बाहिरिएका छन्। यता फरवार्ड भरत खवास पनि टिममा छैनन्। भरत घाइते छन्। अस्ट्रेलियाबाट आएका जगजित श्रेष्ठले पनि अन्तिम लिस्टमा नाम बनाउन सकेनन्। गोलकिपर विशाल श्रेष्ठ टिममा नपर्दा युवा गोलकिपर एलन न्यौपाने टिममा छन्। अभिषेक रिजाल र रवि सिलवालले पहिलो पटक स्थान बनाएका छन्।
राष्ट्रिय टिम घोषणा गरेपछि कालिनले भनेका छन्, ‘हाम्रा लागि टिम बनाउनका लागि अवसर छ। दुवै खेल कठिन हुनेछ। तर पनि हामी अघि बढ्न सक्छौं भन्ने आसा छ।’
कालिनले प्रशिक्षणको आधारमा खेलाडी छनोट गरेको बताएका छन्। उनले केहि नयाँ खेलाडीले प्रशिक्षणका दौरान राम्रो खेल देखाएको बताउँदै उनीहरुले मैदानमा आफूलाई प्रमाणित गर्ने आसा गरे। उनले अघि भने,’केहि खेलाडीमा फिटनेसको समस्या देखिएको छ। मैले पूर्ण फिट खेलाडी मात्र छनोट गरेको छु।’
नेपालले आगामी जेठ १९ गते आइतबार मलेसियासँग मैत्रीपूर्ण खेल्ने कार्यक्रम छ। यसअघि पनि नेपाल र मलेसियाबीच मैत्रीपूर्ण खेलको टुंगो लागेको थियो। तर प्राविधिक कारणले रद्द गरिएको थियो।
नेपालले दोस्रो मैत्रीपूर्ण खेल २३ जेठमा चाइनिज ताइपेईसँग खेल्ने कार्यक्रम छ। बलियो ताइपेईसँग खेल्नु नेपालका लागि कठिन मानिएको छ। किनकी फिफा वरियतामा ताइपेई १ सय २५ स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ। मलेसिया भने नेपाल भन्दा ७ स्थान तल १ सय ६८ स्थानमा छ।
नेपालले गत महिना कुवेतसँग २ वटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिदा दोस्रो खेलमा कुवेतले नेपाललाई १–० गोलले हराएको थियो।
नेपालले मैत्रीपूर्ण खेललाई विश्वकप फुटबल २०२२ को दोस्रो चरणको छनोटको तयारीको रुपमा लिएको छ। फिफा वरियताको आधारमा नेपाल सिधै दोस्रो चरणमा पुगेको थियो। दोस्रो चरण आगामी सेप्टेम्बरदेखि हुँदैछ।
फिफा वरियतामा १६१ औं स्थानमा रहेको नेपाल अप्रिल महिनाको वरियताको आधारमा दोस्रो चरणमा पुगेको थियो।
विश्वकपको पहिलो चरणमा एसियन वरियतामा ३५ देखि ४६ औं वरियतामा पर्ने १२ टिमले प्रतिस्पर्धा गर्ने प्रावधान छ। होम एण्ड अवेको आधारमा हुने पहिलो चरणको विजेता ६ टिम दोस्रो चरणमा प्रवेश गर्नेछ।
नेपाल एसिया वरीयताको ३४औं स्थानमा रहँदै दोस्रो चरणमा पुगेको थियो।
दोस्रो चरणमा एसिया वरियताको शीर्ष ३४ र पहिलो चरणबाट छनोट भएर आउने ६ टिम गरी ४० टिमले प्रतिस्पर्धा गर्नेछन्।
४० राष्ट्रलाई ८ समूहमा विभाजन गरिने दोस्रो चरणमा प्रत्येक समूहमा पाँच टिम हुनेछन्। होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा समूह विजेता आठ टिम र उत्कृष्ट समूह उपविजेता गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछ। त्यस्तै, यही १२ टिमले एसिया कप खेल्नेछन्।
नेपाली टिम
गोलकिपर– किरण चेमजोङ, एलन न्यौपाने, विकेश कुथु
डिफेन्डर- विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल
मिडफिल्डर-  सुनील बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोस तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट