संकल्प मिडिया सेन्टरद्वारा संचालित

भारत-पाक विवाद : वार्ताबाट समस्या समाधान

  •   काठमाडौं
  •   २६ जेष्ठ २०७६, आईतवार
  •   एजेन्सी/इस्लामाबाद

एजेन्सी/इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत–पाकिस्तान विवाद सुल्झाउन वार्ता गर्न आग्रह गरेका छन्। शुक्रवार भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र लेखी उनले यस्तो आग्रह गरेका हुन्। भारतले शांघाई सहयोग संगठनको सम्मेलनका बेला बिस्केकमा पाकिस्तानसँग वार्ता नगर्ने घोषणा गरेलगत्तै खानले पत्र लेखेका छन्।

दोस्रो कार्यकालका लागि मोदीलाई बधाई दिँदै उनले दुई देशले गरिबीविरुद्ध काम गर्नुपर्नेमा जोड दिएका छन्। उनले क्षेत्रीय विकासका लागि मिलेर काम गर्न आह्वान पनि गरेका छन्। पाकिस्तानले कश्मीर लगायतका सबै समस्याको समाधान चाहेको पत्रमा चर्चा गरिएको छ। मोदी पुनः सत्तामा आएपछि मिलेर काम गर्न तयार रहेको खानको यो दोस्रो आग्रह हो।

पुलवामा आक्रमणपछि यी दुई देशबीच तनावपूर्ण स्थिति बनेको थियो। खानले दक्षिण एशियामा शान्ति, विकास र समृद्धिका लागि मिलेर काम गर्नुपर्ने बताउँदै आएका छन्। मोदीले भने शान्ति एवं समृद्धिका लागि हिंसा र आतंकवाद नियन्त्रण हुनुपर्नेमा जोड दिएका छन्। यसअघि शुक्रवार नै पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले भारतीय समकक्षी एस. जयशंकरलाई पत्र लेखी वार्ता गर्न तयार रहेको जानकारी दिएका थिए।