त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

भारतीय गृहमन्त्री अमित शाह नेपाल आउने खबर हल्लामात्रै

  •   काठमाडौं
  •   १० पुष २०७७, शुक्रबार
  •   त्रिबेणी

केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको समयमा भारतका गृहमन्त्री अमित शाह नेपाल भ्रमणमा आउने भन्दै सार्वजनिक भएका समाचारहरु ‘हल्लामात्रै’ भएको खुलेको छ।

केही सञ्चारमाध्यमहरुले गृहमन्त्री शाह शनिवार नेपाल आउन लागेको उल्लेख गरेका थिए।

तर परराष्ट्र मन्त्रालय, भारतीय राजदूतावास स्रोतबाट गृहमन्त्री शाहको भ्रमणको पुष्टि हुन सकेन।

नेपालमा राजनीतिक उथलपुथल चलिरहेका बेला छिमेकी देशका गृहमन्त्री आउँदा सबैको चासो हुने नै भयो। भ्रमणका सवालमा सामान्य मान्छे आउँदा पनि परराष्ट्र गाइगुइँ हुन्थ्यो। तर अहिले भने एक्कासी गृहमन्त्री शाह आउने हल्लाले परराष्ट्रका कर्मचारी नै आश्चर्यमा छन्।

‘भ्रमणबारे अलिकति हिन्टस् त पाइन्छ। तर भारतीय गृहमन्त्री आउने कुरा एकाएक मिडिया आयो। मैले बुझेसम्म कुनै भ्रमण छैन। यो आश्चर्यको कुरा हो,’ परराष्ट्रका एक अधिकारीले सुनाए।

भारतीय दूतावास स्रोतले पनि गृहमन्त्री शाह पश्चिम बंगालको चुनावमा व्यस्त रहेको जानकारी दियो।

‘यस्तो परिस्थितिमा नेपाल भ्रमणमा आउने हल्लामात्रै हो। त्यसै पनि उहाँ वेष्ट बेंगलको इलेक्सनमा बिजी हुनुहुन्छ। वेस्ट बेंगल भाजपाका लागि प्रतिष्ठाको विषय छ। त्यो छाडेर आउने कुरो हुँदैन। भ्रमणको कुनै कार्यक्रम छैन,’ दूतावासका एक अधिकारीले भने।

लामो प्रयासपछि सम्पर्कमा आएका भारतीय गृहमन्त्री अमित शाहका स्वकीय सचिव नेपालको पाल्पा घर भएका सन्दीप राणाले पनि शाहको नेपाल भ्रमणको कुनै कार्यतालिका नरहेको जानकारी दिए। ‘भोलि वेष्ट बेंगलको चुनावबारे रणनीति बनाउन बेंगलका भाजपा प्रभारीहरुसँग बैठक छ। बाहिर निस्किने कुनै सेड्युल छैन,’ उनले भने।

अर्कोतिर प्रधानमन्त्री भारत भ्रमणमा जाने हल्ला पनि चलेको छ। खासगरी भारतीय मिडियाले प्रधानमन्त्री जनवरीमा भारत आउने भनेर उल्लेख गरेका छन्। तर पछिल्लो परिस्थितिका बीच प्रधानमन्त्री कही पनि भ्रमणमा जाने अवस्था नरहेको परराष्ट्र स्रोतले बतायो।

‘प्रधानमन्त्रीले देश छोड्ने अवस्था छैन। भ्रमणको कुरा चलेको हो। तर अहिलेको परिस्थितिमा सम्भव देखिँदैन,’ एक अधिकारीले भने।स्रोत :पहिलो पोस्ट

थप