संकल्प मिडिया सेन्टरद्वारा संचालित

भारतमा एक नेपालीको हत्या, शव जंगलमा गाडेको अवस्थामा भेटियो

  •  
  •   २५ जेष्ठ २०७६, शनिबार
  •  

बैतडी२५ जेठ – बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ । जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चन्दको हत्या गरेको आरोपमा पिथौरागढका नीरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ ।
चन्द भारतमा मजदूरी गर्दै आउनुभएको थियो । हत्याको आरोपमा पक्राउ परेका नीरज कुमार जीपका सहचालक रहेको बुझिएको छ । मादक पदार्थ सेवन गरी विवाद हुँदा कुमारले फलामको रडले चन्दको टाउकोमा हिर्काएका थिए । टाउकोमा गम्भीर चोट लागेका चन्दलाई जीपमा राखी जङ्गलमा लगेर गाडेको निजले प्रहरीको वयानमा बताएका थिए ।
मृतक चन्दको शव परीक्षणका लागि पिथौरागढको एक सरकारी अस्पतालमा राखिएको भारतीय प्रहरीलाई उढृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शव ढिला गरी फेला परेकाले सडेको अवस्थामा रहेको छ ।
घटनास्थल नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटबाट १८ किलोमिटरको दुरीमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस