संकल्प मिडिया सेन्टरद्वारा संचालित

बेलायती प्रधानमन्त्रीविरुद्ध दर्जनौंको प्रदर्शन

  •   लन्डन
  •   १६ भाद्र २०७६, सोमबार
  •   एजेन्सी

संसदीय कारबाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनविरुद्ध शनिवार देशभर प्रदर्शन भएका छन् ।राजधानी लन्डनसहित देशका दर्जनौं शहरमा हजारौं प्रदर्शनकारी भेला भएको अधिकारीले जानकारी दिएका छन् ।

प्रदर्शनकारीहरूले ‘संसद् निलम्बन फिर्ता गर’, ‘लोकतन्त्रको रक्षा गर’, जस्ता नारा लेखिएका घरमै निर्मित प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी बेलायती छायाँ अर्थमन्त्री जोन म्याकडोनेलले संसद् निलम्बन गर्नुलाई लोकतन्त्र मास्ने आरोप लगाए ।

 संसद् निलम्बन गर्ने प्रधानमन्त्री जोन्सनको आग्रहप्रति बेलायती महारानी एलिजावेथ द्वितीयाले चासो राखेकी थिइन् । प्रधानमन्त्रीको उक्त निर्णयप्रति सत्तापक्षका सांसदले पनि विरोध जनाएका छन् । प्रधानमन्त्री जोन्सनले भने आफ्नो निर्णय सही भएको दाबी गर्दै आएका छन् ।

उनले गत बुधवार आउँदो अक्टोबर १४ तारिखसम्मका लागि संसद् निलम्बनका लागि महारानी एलिजावेथ समक्ष पेश गरेका थिए । निलम्बनले आगामी अक्टोबर ३१ तारिखमा बिनाकुनै सम्झौता यूरोपेली संघ (ईयू)बाट बेलायत बाहिरिने प्रक्रिया रोक्न आवश्यक कानुन पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ । जोन्सनले भने ब्रेजिक्टका बारेमा छलफल गर्न दुवै पक्षका सांसदहरूलाई पर्याप्त समय पुग्ने दाबी पनि गरेका छन्।