संकल्प मिडिया सेन्टरद्वारा संचालित

बालकको हत्या प्रकरण : शक्तिशाली धामी बन्न बालकको बली

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

धनुषामा धामी झाँक्रीको काम गर्ने एक व्यक्तिले सिद्धि प्राप्त गरी शक्तिशाली बन्नकै लागि अबोध बालकको बली दिएको सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले विहीवार एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त घटना घटेको २४ दिनपछि बालकको हत्यारा झाँक्रीलाई सार्वजनिक गरेको हो

 अन्धविस्वासमा परी धामी झाँक्रीको काममा दखल बढाई शक्तिशाली बन्नलाई नै साढे दुइ वर्षको आर्यन भन्ने समीर साहलाई निर्ममता पूर्वक धारिलो हथियारले हत्या गरेको प्रहरीले जानकारी दिएको छ । धनुषा प्रहरी उपरीक्षक शेखर खनालका अनुसार धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने फेकू महतोको छोरा वर्ष ५५ को सत्रुधन महतोले घरमा कोही नभएको मौका छोपी वैशाख २३ गते साँझ अपहरण गरी २४ गते विहान २ बजे देउतालाई चढाउने भनेर बालकको हत्या गरेको स्वयं हत्याराले स्वीकार गरेको बताएका छन ।
हत्याराले आर्यनको हत्या गरी लासलाई शम्भु कुमार साहको घर पछाडि कृष्णनन्दन महतोको रुख विरूवासहित खेत भएको झाडीमा फालेको भनि प्रारम्भिक अनुसन्धानबाट खुलेको खनालले बताएका छन् ।
धनुषा प्रहरीले लामो अनुसन्धान गर्दै जाँदा सबूत र प्रमाणको आधारमा जेठ १५ गते सत्रुधन महतोलाई निजकै घर धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ बाट कानून बमोजिम पक्राउ गरी ल्याएको प्रहरी उपरीक्षक खनालले पत्रकार सम्मेलनमा जानकारी दिएका छन । हत्यामा प्रयोग गरिएको धारिलो हतियार र कपडा समेत पत्रकार सम्मेलनमा राखिएको थियो ।

अनुसन्धानको क्रममा धनुषा प्रहरीले ६५ जनालाई सोध पूछ गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालयको संयुक्त टोली खटेको थियो । त्यसै गरी हेटोँडाबाट विशेष तालीम प्राप्त कुकुर समेत अनुसन्धानको क्रममा प्रयोग गरिएको थियो ।
खनालका अनुशार १५ गते नै मृतकका हजूर बूबा पीताम्बर साहले महतोको नाममा अपहरण गरी शरीर बंधक राखी मारेको ज्यान सम्बन्धमा किटानि जाहेरीसमेत दिएको बताएका छन् । प्रहरीले अहिले अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।