त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

बलात्कारका घटना मिलापत्र गराउने जनप्रतिनिधिलाई कानुनी दायरमा ल्याउनू : महान्यायाधिवक्ता

  •   काठमाडौं
  •   २८ आश्विन २०७७, बुधबार
  •   त्रिबेणी

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बलत्कारको घटना मिलापत्र गराउन जनप्रतिनिधि संलग्न भए कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। जनप्रतिनिधि बलात्कारका घटना मिलापत्र गराउन संलग्न भए कानुनी कारबाहीको दायरमा ल्याउन पनि उनले मातहतका अनुसन्धान अधिकारीहरु सरकारी वकिललाई निर्देशन दिएका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै महान्यायाधीवक्ता खरेलले कानुनी जिम्मेवारीलाई मनन गर्दै जनताको प्रतिनिधित्व गर्ने व्यक्तिले कानूनी दायित्व पालना गर्दै कसुरको अनुसन्धान, अभियोजन र न्याय सम्पादन प्रक्रियामा सक्रिय सहयोग गर्न आग्रह गरेका हुन्।

‘कसूरको अनुसन्धानको प्रक्रियामा यस्ता विषयमा सम्बद्ध पीडित, नागरिक समाज, जनप्रतिनिधि एवम् सरोकारवाला निकायबाट समुचित सहयोग हुनेछ भन्ने विश्वास लिएको छु,’ खरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो क्रममा सबै सरकारी वकिल कार्यालयलाई सम्बन्धित प्रहरी कार्यालयसँग समन्वय गरी यस्ता कसुरविरुद्धमा सचेतना कार्यक्रम सञ्चालन गर्नका लागि निर्देशन गरिएको छ।’

पछिल्लो समय शृंखलाबद्ध रुपमा जबरजस्ती करणीसम्बन्धी घटनामा मिलापत्र गराइएको सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। प्रचलित कानूनले जबर्जस्ती करणीसम्बन्धी कसूरलाई सरकार वादी हुने मुद्दाको रुपमा परिभाषित गरेकाले अपराधमा संलग्नलाई पक्राउ गर्न, पीडितको उद्धार, उपचार, सहयोग र संरक्षण गर्नु पर्ने कानूनी दायित्वसमेत भएको उनको विज्ञप्तिमा उल्लेख छ।