संकल्प मिडिया सेन्टरद्वारा संचालित

बंगलादेशले विश्वकपमा निकालेका केही सनसनीपूर्ण नतिजा

  •  
  •   २१ जेष्ठ २०७६, मंगलवार
  •  

विश्व क्रिकेटमा बंगलादेशले एउटा परिचय बनाएको छ, ‘जायन्ट किलर’ । आफूभन्दा बलियो राष्ट्रलाई सहजै हराउने क्षमताका कारण बंगलादेशलाई ‘जायन्ट किलर’का रूपमा लिइन्छ । अझ विश्वकपमा बंगलादेशले कुनै न कुनै एक उपाधि दाबेदार राष्ट्रलाई आफ्नो सिकार बनाउँदै आएको इतिहास छ । सन् १९९९ मा इंग्ल्यान्डले नै आयोजना गरेको विश्वकपमा बंगलादेशले डेब्यु गरेको थियो । २० वर्षपछि पुनः इंग्लिस भूमिमा विश्वकप खेलिरहँदा बंगलादेश आफ्नो छविअनुरूप पहिलो सनसनीपूर्ण नतिजा निकाल्न सफल भयो । बंगलादेशले विश्वकपमा निकालेका केही सनसनीपूर्ण नतिजा यस्ता छन्:
पाकिस्तान ६२ रनले पराजित (१९९९)
वासिम अक्रमको कप्तानीमा पाकिस्तानले सन् १९९९ को विश्वकपको फाइनलयात्रा तय गरेको थियो । तर, समूह चरणमा पाकिस्तानले सोच्दैनसोचेको नतिजा आत्मसात् ग¥यो । विश्वकपमा नवप्रवेशी राष्ट्रका रूपमा बंगलादेशले पाकिस्तानलाई समूह चरणमा स्तब्ध बनायो । अन्तर्राष्ट्रिय क्रिकेटमा खासै अनुभव नभएको बंगलादेशले पहिलो ब्याटिङ गर्दै २२३/९ को स्कोर बनायो । सो खेलमा पाकिस्तानका सक्लेन मुस्ताकले ३५ रन खर्चेर महत्वपूर्ण पाँच विकेट पनि लिए । तर, प्रत्युत्तरमा बंगलादेशका बलरले कसिलो बलिङ गर्दा पाकिस्तान १६१ रनमा अलआउट भयो र बंगलादेशले ६२ रनले खेल आफ्नो पक्षमा पार्‍यो ।
दक्षिण अफ्रिका ६७ रनले पराजित (२००७)
क्यारेबियन भूमिमा बंगलादेश लगातार दुई खेलमा अविश्वसनीय नतिजा निकाल्न सफल भयो । भारतलाई हराएको बंगलादेशले अर्को खेलमा दक्षिण अफ्रिकालाई आफ्नो सिकार बनायो । सुपर एटको प्रतिस्पर्धामा दक्षिण अफ्रिका बंगलादेशसँग ६७ रनले हार्‍यो । पहिलो ब्याटिङ गरेको बंगलादेशले २५१ रन बनाएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिका १८४ रनमा अलआउट भयो । विश्वकपमा दक्षिण अफ्रिकामाथि पहिलोपटक जित निकाल्नेक्रममा बंगलादेशका स्पिनर मोहमद रफिक, अब्दुल रजाक तथा सकिब अल हसनले उत्कृष्ट बलिङ गरेका थिए ।
भारतको पाँच विकेटको हार (२००७)
वेस्टइन्डिजको भूमिमा पहिलोपटक विश्वकप भइरहेको थियो । सुरुमै पाकिस्तानका प्रशिक्षक बब उल्मरको शव होटेलमा पाउँदा विश्वकपमा एउटा सन्नाटा छाएको थियो । प्रतिस्पर्धाअघि बढ्दै जाँदा भारतले बंगलादेशविरुद्ध समूह चरणमै प्रतिस्पर्धा गर्‍यो । तत्कालीन समयमा भारतलाई उपाधि दाबेदार मानिएको थियो । स्टार खेलाडीले भरिएको भारतले बंगलादेशलाई सहजै हराउने अनुमान गरियो । तर, बंगलादेशका स्पिनरले जादुमयी बलिङ गर्दा निकै बलियो ब्याटिङ अर्डर भएको भारत १९१ रनमै अलआउट भयो । बंगलादेशले पाँच विकेटको क्षतिमा १९२ रन जोड्यो । बंगलादेशको जितसँगै भारत विश्वकप इतिहासमै पहिलोपटक विश्वकप समूह चरणबाट बाहिरियो।
इंग्ल्यान्ड १५ रनले स्तब्ध (२०१५)
गत संस्करणमा बंगलादेशले क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई पाखा लगायो । एडिलेड मैदानमा बंगलादेशले पहिलो ब्याटिङ गरी सात विकेटको नोक्सानीमा २७५ रन बनाएको थियो । मोहमुदुल्लाहको शतकमा बंगलादेश चुनौतीपूर्ण स्कोर खडा गर्न सफल भयो । प्रत्युत्तरमा इंग्ल्यान्ड २६० रनमा रोकिँदा बंगलादेशले १५ रनको रोमाञ्चक जित निकाल्यो ।
दक्षिण अफ्रिका २१ रनले पराजित (२०१९)
बंगलादेश विश्वकप क्रिकेटमै पहिलोपटक उत्कृष्ट नतिजासहित यात्रा सुरु गर्न सफल भयो । पहिलो खेलमा पराजित भएको दक्षिण अफ्रिका बंगलादेशविरुद्ध उत्कृष्ट पुनरामगन गर्ने विश्वासमा थियो । तर, बंगलादेशले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दा दक्षिण अफ्रिका २१ रनले पराजित भयो । पहिलो ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ३० रन बनायो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले आठ विकेटको क्षतिमा तीन सय नौ रन मात्र जोड्यो ।
 
सकिबको कीर्तिमान
बंगलादेशी स्टार सकिब अल हसनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा रेकर्ड बनाएका छन् । एकदिवसीय क्रिकेटममा कम खेलमा पाँच हजार रन तथा दुई सय ५० विकेट लिने उनी पहिलो खेलाडी बनेका छन् । ४५औँ ओभरमा एडेन माक्रामलाई आउट गरेपछि सकिबले सो सफलता चुमेका हुन् । सकिबले केवल १९९ खेलमै इतिहास बनाए । अब्दुल रजाक, साहिद अफ्रिदी, ज्याक कालिस तथा सनथ जयसूर्याले पनि यस्तै उपलब्धि हात पारेका छन् ।