संकल्प मिडिया सेन्टरद्वारा संचालित

बंगलादेशको विजयी सुरुवात

  •  
  •   २० जेष्ठ २०७६, सोमबार
  •  

एजेन्सी/बंगलादेशले इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । दी ओभल मैदानमा आइतबार राति भएको खेलमा बंगलादेशले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई २१ रनले हरायो । दक्षिण अफ्रिका यसअघि पहिलो खेलमा घरेलु टोली इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको थियो ।
बंगलादेशले दिएको तीन सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय ९ रन मात्र बनाएको थियो । दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाए ।
यसैगरी जेपी डुम्नी र अइडन मार्कमले समान ४५, रासी भान डल डुसेनले ४१, डेभिड मिलरले ३८ र क्विन्टन डी ककले २३ रन बनाए । बलिङमा बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । यस्तै मोहमद सैफुद्दिनले दुई तथा सकिब अल हसन र मेहदी हसनले एकएक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ३० रन बनाएको थियो । बंगलादेशका लागि मुस्फिकुर रहिम र सकिब अल हसनले अर्धशतकीय पाली खेले । रहिमले ७८ रन जोड्दा सकिबले ७५ रन बनाएका थिए । यमोहमदउल्लाले अविजित ४६, सौम्य सरकारले ४२, मोसादेक हुसेनले २६ र मोहमद मिथुनले २१ रन बनाए ।
बलिङमा दक्षिण अफ्रिकाका इमरान ताहिर, क्रिस मोरिस र एन्ड्ली फेलुक्वायाले दुई÷दुई विकेट लिए । लगातार दोस्रो हारले दक्षिण अफ्रिकालाई दबाब थपिएको छ । टोलीका महत्वपूर्ण ओपनर ब्याट्सम्यान हसिम अमला चोटका कारण खेल्न नसक्नु र आशा गरिएका बलर लुंगी जीदी घाइते हुँदा दक्षिणा अफ्रिकाका निराश बन्न बाध्य भयो ।