संकल्प मिडिया सेन्टरद्वारा संचालित

प्रस्तावित अख्तियार प्रमुख घिमिरेविरुद्ध उजुरी आह्वान

  •  
  •   २४ भाद्र २०७५, आईतवार
  •  

भाद्र २४, काठमाडौं । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रस्तावित नवीनकुमार घिमिरेविरूद्ध संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेको छ । समितिले असोज १ गतेभित्र समितिमा आफै आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी पठाउन सूचना प्रकाशित गरेको हो ।
समितिले उजुरीमा नाम थर, वतन र सम्पर्क माध्यम खुलाउनुपर्ने जनाएको छ । संसदीय समितिले उजुरीकर्ताले चाहेमा व्यक्तिगत विवरण गोप्य राखिने जनाएको छ । संवैधानिक परिषद्को भदौ २० को बैठकले कार्यबाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । परिषद्ले सिफारिस गरेको नामलाई संसदीय सुनुवाई समितिले सुनुवाई गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रमुख आयुक्तमा सिफारिस भएका घिमिरे पूर्व गृहसचिवका रुपमा नेपाल सरकारको निजामति सेवाबाट अवकाश पाएका व्यक्ति हुन् । उनले रक्षा सचिवको जिम्मेबारीको समेत अनुभव हासिल गरेका छन् । संवैधानिक परिषदको २०७१ फागुन १५ को निर्णयबाट आयुक्त सिफारिस भएका घिमिरेलाई सोही वर्ष चैतमा आयुक्त नियुक्त गरिएको थियो ।
२०१२ भदौं २९ मा जन्मिएका घिमिरे सार्वजनिक सुनवाई समितिबाट अनुमोदन भए २०७७ चैतसम्म प्रमुख आयुक्त पदमा बहाल रहनेछन् । आयोग ऐन अनुसार ६५ वर्ष उमेर वा ६ वर्षे कार्यकाल जुन अगाडि आउँछन् सोही अनुसार अवकाश पाउने व्यवस्था छ ।