संकल्प मिडिया सेन्टरद्वारा संचालित

प्रधानमन्त्री सिंगापुरबाट २० गते फर्कने

  •   काठमाडौं
  •   १६ भाद्र २०७६, सोमबार
  •   त्रिबेणी

उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गते स्वदेश फर्कने भएका छन्।

प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको टेलिफोन कुराकानीमा २० गते फर्कने जानकारी दिएका हुन्।

‘मैले स्वास्थ्य कस्तो छ भनेर सोधेँ’, नेम्वाङले सेतोपाटीसँग भने, ‘ठीक छ। राम्रो भैराखेको छ भन्नुभयो।’ नेम्वाङले फर्कने मितिबारे समेत ओलीसँग जिज्ञासा राखेका थिए।

‘उहाँले २० गते फर्कन्छु भन्नुभयो’, नेम्वाङले भने। प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे जिज्ञासासमेत राखेको पनि नेम्वाङले बताए।

‘मैले प्रतिपक्षसँग कुरा भैराखेको छु भनेँ’, उनले भने, ‘साथै सत्य निरुपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगमा नियुक्तिका विषयमा सिफारिस कमिटीमा कुराकानी भैरहेको जानकारी गराएँ।’

प्रधानमन्त्री ओलीले संसदमा रहेका विधेयकहरुको विषयमा समेत चासो राखेका थिए।

‘उहाँले विधेयकहरूबारे चासो व्यक्त गर्नुभयो’, नेम्वाङले भने, ‘मैले प्रतिपक्षीसँग छलफल भए अनुसार विधेयकहरू अगाडि बढिरहेको र समितिहरुबाट संशोधनमार्फत् अगाडी बढ्ने जानकारी गराएँ।’

भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि उपचार थालिएको थियो। एकदिन बिराएर गरिने प्लाज्माफेरेसिस तीन पटक गरिसकिएको छ र बिहीबार चौंथो पटक हुँदैछ। 

प्रधानमन्त्रीको शरीरमा पाँचदेखि सात पटकको बीचमा प्लाज्माफेरेसिस गर्नुपर्ने क्याबिनेट डाक्टर दीलिप शर्माले बताए।

१२ वर्षअघि फेरिएको मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएका हुन्। उनको त्यहाँ रहेको नेशलन युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ।