संकल्प मिडिया सेन्टरद्वारा संचालित

प्रधानन्यायाधीशमा अस्वीकृत जोशी सर्वोच्च फर्कँदै

  •  
  •   २६ भाद्र २०७५, मंगलवार
  •  

भाद्र २६, काठमाडौ । संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी मंगलबारबाट सर्वोच्च फर्कने भएका छन्। जोशीले सोमबार नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई वरिष्ठतम् न्यायाधीशको हैसियतमा अदालतमा स्वागत गरेका थिए। प्रधानन्यायाधीशमा सिफारिश जोशीलाई साउन १८ गते संसदीय सनुवाइ समितिले अस्वीकृत गरेको थियो। त्यसको भोलिपल्टदेखि  जोशी बिदा बसेका थिए। ‘हो म अदालत फर्कदैँ छु’, जोशीले भने, ‘कसैको नराम्रो गरेको छैन।’
प्रधानन्यायाधीशमा अस्वीकृत गर्दै सुनुवाइ समितिका नेकपाका सांसदले जोशीको शैक्षिक प्रमाणपत्रमा सन्देह देखिएको, सुनुवाइका क्रममा न्याय क्षेत्रमा ठोस अवधारणा ल्याउन नसकेको, नेपालको न्यायप्रणालीलाई योगदान गर्न सक्ने कुनै दृष्टान्त पेश नगरेको कारण देखाएको थियो।
प्रधानन्यायाधीश मिश्रले पदभार ग्रहण गर्दै जोशीलाई अन्य न्यायाधीशसँग काम गर्न अफ्ठ्यारो नहुने बताए। पत्रकारले जोशीको अन्य न्यायाधीशसँग मेलमिलाप हुन्छ भनेर राखेको जिज्ञासामा उनले ‘त्यस्तो आशंका नगर्न’ आग्रह गरे। ‘मिस अण्डरस्याण्डिङ छैन’, मिश्रले भने, ‘यस्तोमा अण्डस्याण्डिङको कुरै भएन।’
मिश्र प्रधानन्यायाधीश भएपछि जोशी वरिष्ठतम् न्यायाधीश हुनेछन्। वरिष्ठतम न्यायाधीश संवैधानिक इजलासको सदस्य हुन्छ। त्यस्तै न्यायाधीश सिफारिस तथा उजुरी छानविन गर्ने निकाय न्यायपरिषद्को सदस्य हुने व्यवस्था छ। न्यायपरिषद्ले वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न रोष्टर तयार गरेर संवैधानिक परिषद्मा पठाउने गरेको छ। मिश्रको कार्यकाल पुस १७ गते सकिदैँछ।यस्तोमा जोशी पुन: सिफारिस हुनसक्ने सम्भावना समेत यथावत् छ।