संकल्प मिडिया सेन्टरद्वारा संचालित

प्रदेश ३ सेमिफाइनलमा प्रवेश, सुदुरपश्चिम ६ विकेटले पराजित

  •  
  •   २० जेष्ठ २०७६, सोमबार
  •  

काठमाडौं- प्रदेश नम्बर ३ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश ३ ले सुदुरपश्चिमलाई ६ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४५.१ ओभरमा सवै विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो ।
सुदुरपश्चिमका लागि खड्क बोहराले सर्वाधिक ४० रन बनाए । रोशन अधिकारीले २७, नरेश बोहराले २६ र कप्तान शेर मल्लले १४ रन बनाए । बलिङमा प्रदेश ३ का सुर्य तामाङले तीन विकेट लिए । प्रतिष जिसी र जितेन्द्र ठकुरीले दुई दुई विकेट लिए । नन्दन यादव र कप्तान पारस खड्काले एक एक विकेट लिएको थिए ।
एक सय ५५ रनको विजय लक्ष्य पछ्याएको प्रदेश ३ ले ३३.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । प्रदेश ३ को जितमा इशान पाण्डेले ५३ रन बनाए । अदिल खानले अविजित ३३, पारस खड्काले २६, रबिन जोशीले १३, जितेन्द्र ठकुरीले अविजित १२ र प्रतिष जिसीले ११ बनाएका थिए । बलिङमा सुदुरपश्चिमका विकास अग्री, शेर मल्ल, विनोद लामा र महेश अधिकारीले एक एक विकेट लिए । समूह ‘ए’ मा रहेको प्रदेश ३ समूह सिवजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
प्रदेश ३ ले चार खेलबाट ६ अंक बनायो । समान ६ अंक बनाएको एपीएफ क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । यसैगरी टियु मैदान किर्तिपुरमा भएको अर्को खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई तीन विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४९.२ ओभरमा सबै विकेट गुमाएर दुई सय ३४ रन बनाएको थियो ।
गण्डकीका लागि अनिल गुरुङले एक सय १५ रन बनाए । एक सय ५२ बलमा उक्त रन बनाएका अनिलले पाँच चौका र एक छक्का हानेका थिए । दिनेश श्रेष्ठले २८, कप्तान गोविन्द प्रधानले २६, मेख शेनले २३, किशोर महत्वले २० र सुमन घिमिरेले १३ रन बनाए ।
प्रदेश ५ का अनिल खरेलले पाँच विकेट लिए । कृष्ण कार्की र विक्रम भुषालले दुई दुई तथा सिद्धान्त शाहीले एक विकेट झारेका थिए । दुई सय ३५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश ५ ले ४९.५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । प्रदेश ५ को जितमा शौरभ खनालले सर्वाधिक ९९ रन बनाए । एक सय १२ बलमा उक्त रन बनाएका उनले १२ छक्का हानेका थिए । प्रनित थापामगरले ४५, निश्चल चौधरीले ३३, सन्दीप सुनारले १७, कप्तान कृष्ण कार्कीले १३ र सुवेन्दु पाण्डेले ११ रन बनाए । गण्डकीका किशोरम हत्तोले दुई विकेट लिए । विशाल पौडेल, दिपेश श्रेष्ठ र गोविन्द प्रधानले समान एक एक विकेट लिएका थिए ।