संकल्प मिडिया सेन्टरद्वारा संचालित

पूर्वविजेतालाई अफगानिस्तानको चुनौती

  •  
  •   २१ जेष्ठ २०७६, मंगलवार
  •  

एजेन्सी/लन्डन  : विश्वकप क्रिकेटको मंगलबार हुने खेलमा श्रीलंकाले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे कार्डिफस्थित सोफिया गार्डेन्स मैदानमा खेलिनेछ । श्रीलंका र अफगानिस्तान दुवैको यो दोस्रो खेल हो । जारी विश्वकपको आफ्नो पहिलो खेलमा यी दुवै टोली पराजित भएका थिए ।
श्रीलंकालाई न्युजिल्यान्डले १० विकेटको फराकिलो अन्तरले हराएको थियो भने अफगानिस्तालाई साबिक विजेता अस्ट्रेलियाले सात विकेटले पराजित गरेको थियो । श्रीलंका सन् १९९६ को विश्वकप विजेता टोली हो भने अफगानिस्ताको यो दोस्रो विश्वकप सहभागिता हो । सन् २०१५ को विश्वकपमा अफगानिस्तान समूहगत चरणबाटै बाहिरिएको थियो ।
विश्वकपमा अफगानिस्तानले हालसम्म एक खेलमात्र जित्न सकेको छ । सन् २०१५ को विश्वकपमा अफगानिस्तानले स्कटल्यान्डलाई एक विकेटले हराएको थियो । जारी विश्वकपको आफ्नो पहिलो खेलमा पराजित भएकाले पनि मंगलबार हुने खेल यी दुबै टोलीका लागि महŒवपूर्ण छ । यी दुवै टोली समूहगत चरणका बढीभन्दा बढी खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छन् ।
जारी विश्वकपमा अफगानिस्तानको बलिङ स्तरीय देखिएको छ । तुलनात्मक रूपमा ब्याटिङ केही फितलो रहे पनि त्यसमा सुधार आउँदै गएको देखिन्छ । यसको ठीक विपरीत अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित राष्ट्र भएर पनि पछिल्लो समय श्रीलंकाको ब्याटिङ र बलिङ दुवै सन्तोषजनक देखिएको छैन । न्युजिल्यान्डविरुद्धको खेलमा पनि श्रीलंकाका तीन खेलाडी कप्तान दिमुथ करुनारत्ने (अविजित ५२ रन), विकेटकिपर ब्याट्सम्यान कुशल परेरा (२९ रन) र थिसरा परेरा (२७ रन) ले मात्र दोहोरो संख्यामा रन बटुल्न सकेका थिए ।
न्युजिल्यान्डविरुद्धको खेलमा श्रीलंकाली टोली २९.२ ओभरमा एक सय ३६ रनमै अलआउट भएको थियो । न्युजिल्यान्डले १६.१ ओभरमै विजयलक्ष्य पूरा गरेको थियो । बलिङमा पनि अनुभवी लासिथ मालिंगासहित कोही पनि चल्न सकेनन् । हालसम्म श्रीलंका र अफगानिस्तानबीच तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा भएको छ । दुई खेलमा श्रीलंका विजयी भएको छ भने अफगानिस्तानले एक खेलको नतिजालाई आफ्नो पक्षमा पारेको छ ।
श्रीलंकाले अफगानिस्तानलाई सन् २०१४ मा भएको एसिया कप र सन् २०१५ को विश्वकपमा हराएको थियो । अफगानिस्तानले भने सन् २०१८ को एसिया कपमा श्रीलंकालाई हराएको थियो । मंगलबार यी दुई टोलीबीच खेल हुने सोफिया गार्डेन्स रंगशालामा तीव्रगतिका बलरहरू चम्कन सक्ने सम्भावना छ । अफगानिस्तानको टोली गुलबदिन नाइब र       श्रीलंकाको टोली दिमुथ करुनारत्नेको कप्तानीमा छन् ।