संकल्प मिडिया सेन्टरद्वारा संचालित

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा, बंगलादेशलाई २ ० ले हरायो

  •  
  •   २३ भाद्र २०७५, शनिबार
  •  

काठमाडौं : साफ च्याम्पियनसिपको समूहगत चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि सानदार जित दर्ता गरेको छ । यो जितसँगै गोल अन्तरका आधारमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशमा जारी साफ च्याम्पियनसिप २०१८ मा घरेलु टोली बंगलादेशलाई शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले २-० गोल अन्तरले हराएको हो । ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालको जितमा बिमल घर्तिमगर र नवयुग श्रेष्ठले गोल गरे। खेलको ३३ औं मिनेटमा विमल र ८७ मिनेटमा नवयुगले गोल गरेका हुन्।
अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो । खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राख्यो ।
विमल घर्तिमगरले पहिलो हाफमा नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। विमलले ३३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए। उनले समूह चरणमा पाकिस्तानविरुद्धको पहिलो खेलमा २–१ ले हर्दा गोल गरेका थिए। विमलको यो नेपाली टोलीका लागि आठौं गोल हो। सुनिल बललाई वाले फैजले फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो।
जितसँगै समूह एमा रहेको नेपालसँगै पाकिस्तान र बंगलादेशको समान ६-६ अंक भएको थियो । तर, भुटानविरुद्ध गरेको ४ गोल नेपालका लागि महत्वपूर्ण बन्यो र गोल अन्तरका समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ ।
सेमिफाइनलमा नेपालले समूह बी को उपविजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । समूह बी को विजेता र उपविजेताको टुंगो आइतबार हुने भारत र माल्दिभ्सबीचको खेलले लगाउनेछ ।
पाकिस्तान उपविजेता बन्यो भने घरेलु टोली बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।