संकल्प मिडिया सेन्टरद्वारा संचालित

नेपाल र मलेसिया बिच भयो ऐतिहासिक सम्झौता : ७ गते तलब, आफन्त मर्दा १५ दिनको बिदा

  •  
  •   १३ कार्तिक २०७५, मंगलवार
  •  

काठमाडौं, १२ कात्तिक । बैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीहरुको पक्षमा नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता भएको छ। यो संगै झण्डै तीन दशक देखि नेपालीहरुले झेल्दै आएको अतिरिक्त आर्थिक भार पनि कम भएको छ । स्वास्थ्य परिक्षणका नाममा खोलिएका विभिन्न कम्पनीहरुको पैसा असुल्ने धन्दा रोकिएको छ ।

सोमबार काठमाडौँको होटल हायतमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियन समकक्षी एम कुला शेघरानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मन्त्री कुला आइतवार नै नेपाल आएका थिए । नेपालले मलेसिया जाने नेपालीहरुलाई ठगी गर्ने विभिन्न प्रकृया नरोकिदा सम्मका लागि भन्दै मलेसियामा नेपाली पठाउने काम नै बन्द गरेको थियो ।
सम्झौतासँगै अब मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा कामदारले शुल्क तिर्नुपर्ने नपर्ने भएको छ। सम्झौतामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च अब रोजगारदाता कम्पनीले नै बोहोर्ने भएको छ । सबै खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने सम्झौतामा उल्लेख गरिएको मन्त्री विष्टले जानकारी दिएका छन् ।
यो सम्झौता पछि अब मलेसिया बैदेशिक रोजगारीका लागि जाने नेपालीको करार अवधि दुई वर्षको हुनेछ । नेपालीले अब प्रत्येक महिनाको ७ गते भित्र तलब प्राप्त गरिसक्ने छन् । त्यस्तै कामदारको तलब मलेसिया सरकारको नियम अनुसार हुनेछ। नेपाली कामदारका कोही आफन्तको मृत्यु भएका १५ दिनको लागि घर आउने व्यवस्था हुने कुरा पनि सम्झौतामा उल्लेख छ।
विभिन्न एजेन्सीले स्वास्थ्य परीक्षण गर्न ३९ वटामात्र स्वास्थ्य संस्थाको एकाधिकार कायम गरी नेपाल सरकारले तोकेभन्दा बढी रकम असुल्दै आएका थिए । यो सम्झौताले त्यो मनोमानीको अन्त्य गरेको छ ।