संकल्प मिडिया सेन्टरद्वारा संचालित

नेपाली कामदारहरुलाई रोजगारी दिँदा अब बीचमा कुनै दलाल हुने छैनन्: मलेसियाली मन्त्री कुलसेगरन

  •  
  •   १३ कार्तिक २०७५, मंगलवार
  •  

एजेन्सी– नेपाली कामदारहरु रोजगारीको लागि मलेशिया जाँदा अब दलालहरुको आवश्यकता नपर्ने मलेसियाका मानव संसाधन मन्त्री एम.कुलसेगरनले बताए ।  उनका अनुसार भावी दिनमा यस सम्बन्धमा सम्पूर्ण लेनदेन जीटुटी इनिसियटिभ (सरकारहरुबीचको अग्रसरता) अन्तर्गत हुनेछ ।

मलेसियाली मिडियालाई आफ्नो सरकारले नेपाल सरकारसँग गरेको ‘मेमोरेण्डम अफ अण्डरस्टाण्डिङ(एमओयु) भएको जानकारी दिने क्रममा उनले यो जानकारी दिएका हुन् ।  उनले नेपाल सरकार घरेलु कामको लागि महिलासमेत सबै खालका कामदार पठाउन तयार भएको जानकारी दिए ।
‘हामीले सबै दलालहरुको खेल्ने ठाँउ अन्त्य गरेका छौं । त्यसको सट्टा अब हामी ‘जीटुजी’ प्रयोग गरेर सिधै भर्ना गर्नेछौं,’ मंगलबार संसदको लबीमा भएको पत्रकार सम्मेलनमा कुलसेगरनले भने । यसअघि रोजगारीको लागि मलेशिया जाने बेला तोकिएका कडा आप्रवासन सर्तहरुप्रति असन्तुष्टि जनाउदैं नेपाल सरकारले आफ्ना कामदारहरुलाई मलेसिया जान रोक लगाएको थियो ।
उक्त प्रतिबन्ध हटाउने विषयमा छलफलको निष्कर्ष स्वरुप हाल आएर दुवै देशबीच ‘एमओयु’मा सहमति भएको हो । एक अनुमानअनुसार मलेसियामा हाल ५ लाख नेपाली कामदारहरु रहेका छन् । तीमध्ये पनि १,५०,००० सुरक्षा गार्डका रुपमा काम गरिरहेका छन् भने बाँकी निर्माण क्षेत्रमा संलग्न छन् ।
‘नेपालको एमओयुले निष्कर्ष पाएको छ । उनीहरुले अब तत्कालबाट कामदारहरु पठाउन सक्नेछन् । बङ्लादेश, इण्डोनेशिया र भारत लगायतका बाँकी देशहरुसँग हाम्रो छलफल चलिरहेको छ,’ मन्त्री कुलसेगरनले जानकारी दिए ।