संकल्प मिडिया सेन्टरद्वारा संचालित

नेकपाको ३ नम्बर प्रदेशको संसदीय दलको बैठक सम्पन्न

  •  
  •   १९ भाद्र २०७५, मंगलवार
  •  

भाद्र १९ काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को ३ नम्बर प्रदेशको संसदीय दलको बैठक मंगलबार बसेको छ । बैठकमा बोल्दै संसदीय दलका नेता एबम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार दीर्घकालिन योजना लिएर अगाडि बढिसकेको बताए ।
उनले योजनाहरु सम्पन्न गराउन सबैले सहकार्य गर्न जरुरी रहेको बताए । हाल प्रदेश सभाबाट १७ वटा विधेयक पास भईसकेको बताउदै प्रदेश सरकारको काम सन्तोषजनक रहेको उनको भनाई थियो । हाल कानुन निर्माणका विषयलाई तीब्रता दिएको भन्दै मुख्यमन्त्री पौडेलले विस्तारै अन्यौलता हट्ने बताए ।
बैठकमा मन्त्री परिषदको बैठकबाट दिएका सैद्धान्तिक सहमतिको विषय, प्रदेश सभाबाट पारित भएका विधेयकहरुका विषयमा छलफल भएको थियो । बैठकले संसदीय काम, पार्टीका काम र सरकारका कामहरुका विषयमा पनि छलफल गरेको सांसद रामेश्वर फुया“लले जानकारी दिए । यसैगरी संघीय सरकार र प्रदेश सरकारबीच सम्बन्ध कसरी मजबुत पार्ने सम्बन्धमा पनि छलफल भएको छ । संसदीय दलको बैठकमा संघीय सरकारले साना–साना परियोजनाको पनि कार्यालय खोल्न लागेको भन्दै आपत्ति समेत प्रकट गरिएको छ ।
यसैगरी ३ नम्बर प्रदेशलाई हरित प्रदेश, फलफूल बर्षका रुपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्रस्तुत गरेको अवधारणामा रहेको प्रोजेक्ट बैंकलाई दिगोरुपमा अगाडि लैजान समेत सांसदहरुले आग्रह गरेका थिए । आगामी बैठकमा मन्त्रालय, प्रदेश स्तरीय समिति र सरकारका कामको प्रतिवेदन सहित छलफल हुने उनको भनाई थियो ।
बैठकमा सांसदहरु शशीजंग थापा, प्रदीप कटुवाल, केशबराज पाण्डे, कञ्चन खनाल, आशामाया तामाङ, रमा आले, बेलीमाया घले, शान्तीराम पौडेल, प्रेमबहादुर पुलामी, हिमाली गोले, सरस्वती बस्नेत, लेखनाथ दाहाल, योगेन्द्र संग्रौला, रामकुमार अधिकारी, बद्रि मैनालीलगायतले बजेट कार्यान्वयन सम्बन्धी कार्यविधि सम्पन्न गरी छिटो भन्दा छिटो कार्यान्वयनको दिशामा अगाडि बढाउन आग्रह गरे ।