संकल्प मिडिया सेन्टरद्वारा संचालित

निर्माणाधीन रंगशालामा डोजर लगाउनेमाथि नेकपाको कारबाही

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनामा डोजर लगाउने आफ्ना कार्यकर्तामाथि कारबाही गरेको छ।
जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ ले बिहिबार विज्ञप्तीमार्फत २ जना कार्यकर्तालाई कारबाही गरेको जनाएका छन्।
‘स्थानीय प्रकाश कँडेल, भैरव बस्ताकोटी उदण्ड व्यक्तिहरुबाट भएको सो दुष्कार्यप्रति हाम्रो पार्टी चितवन गम्भीर दुख व्यक्त गर्दछ,’ विज्ञप्तीमा भनिएको छ,’ घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारबाही गरेको छ भने अर्का पार्टी सदस्य भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको छ।’
पार्टीको प्रेस विज्ञप्ती 

यसअघि बुधबार विहान फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको रंगशालाको तारबारमा बुधबार डोजर चलाइएको थियो। बाटोको माग गर्दै रंगशाला निर्माणका लागि प्राप्त जग्गामा लगाइएको बारमा डोजर चलाइएको बताइएको थियो। लगत्तै फाउण्डेशनका अध्यक्ष कलाकार सीताराम कट्टेल (धुर्मुस)ले राजनीतिक आडमा नियोजित हिसाबमा डोजर लगाइएको आरोप लगाएका थिए।
उनले रंगशाला निर्माण परियोजना केही समयका लागि स्थगित भएको समेत जनाएका थिए।  परियोजनाको सुरुवातदेखि नै काममा असहजता सिर्जना गराउने, विभिन्न अनुचित माग राख्ने र फाउण्डेशनका कर्मचारी धम्क्याउने लगायतका कामहरू केही उत्श्रृंखल समूहबाट हुँदै आएको भन्दै उनले बारमा डोजर चलाउनेप्रति भर्त्सनासमेत गरेका थिए।
समस्याको स्थायी समाधान र सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि परियोजना स्थगित गरिएको थियो।
‘परियोजना भित्रको सुरक्षाको स्थिति र कार्यवातावरण तयार गर्न लगाइएको अस्थायी बारबेरमा सुनियोजित रुपमा स्थानीयलाई भ्रामक दुष्पचार गरी समूहमा आइ जबरजस्ती जुन खालको गतिबिधि भयो। यसबाट कार्यवातावरण कर्मचारी कामदारको जिउ ज्यान  र भौतिक सम्पत्तिको सुरक्षाको विषयमा गम्भीर परिस्थितिको सिर्जना भएको हुँदा स्थायी समाधान र कार्यावातावरण तयार नभएसम्‍मका लागि परियोजनाको कामबारबाही स्थगित भएको छ,’ फाउण्डेशनले जारी गरेको विज्ञप्तिमा भनिएको थियो।
२०७५ माघ १६ गते सरकारको रोहबरमा त्रिपक्षीय सम्झौता भएपछि धुर्मुस सुन्तली फाउण्डेशनको संयोजकत्वमा भरतपुर महानगरपालिका–१५ शान्तिचोकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सुरु भएको थियो।
रङ्गशाला निर्माणका लागि अहिले सहयोग जुनाउने काम भइरहेको छ। २० बिघा ६ कट्ठा जग्गामा बन्ने रंगशालाको अहिले डिजाइनको काम भइरहेको र अहिलेसम्म रंगशाला निर्माणका लागि साढे पाँच करोडभन्दा बढी रकम सहयोगबापत प्राप्त भइसकेको छ।

सम्बन्धित समाचार :

रंगशाला निर्माणस्थलमा डोजर चलेपछि धुर्मुसले भने– जीवनकै कारुणिक दृश्य

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण स्थगित