संकल्प मिडिया सेन्टरद्वारा संचालित

निर्मला हत्या प्रकरण : मुख्य अभियुक्त भनिएका दिलीपसिंह विष्ट रिहा

  •  
  •   २६ भाद्र २०७५, मंगलवार
  •  

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा अभियुक्त बनाइएका दिलिपसिंह बिष्ट रिहा भएका छन् । बिष्टसँग बम दिदीबहिनी पनि रिहा भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई प्रहरीले जिल्ला सरकारी वकिलको सहमतिमा हाजिर जमानी र धरौटीमा रिहा गरेको हो । प्रहरीले निर्मला पन्त हत्याका मुख्य अभियुक्त भनी पक्राउ गरेको दिलिप सिंह विष्ट र  रोशनी बमलाई हाजिर जमानीमा छाडेको हो भने बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले बताए ।
निर्मलाको डिएनएको प्रोफाइल र दिलीपसिंहको डिएनएको प्रोफाइल नमिलेपछि विष्टलाई जिल्ला अदालत कञ्चनपुरले मंगलबार साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । निर्मला पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरल बस्तु) मा रहेको बलात्कारीको डीनए र दिलीपसिंह विष्टको डीएनए फरक पाइएको हो । विधि विज्ञान प्रयोगशालाले दिलीपको डीएनए नमिलेको रिपोर्ट पठाएपछि उनी रिहा भएका हुन् ।
मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७२ को दफा १५ अनुसार अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई धरौट वा जमानत लिई वा उसलाई अभिभावकको जिम्मामा हाजिर जमानीमा छोड्न सक्ने व्यवस्था छ । त्यसै व्यवस्था अनुसार प्रहरीले निर्मला हत्याको अनुसन्धानमा पक्राउ परेका विष्ट र बम दिदीबहिनीलाई रिहा गरेको हो ।