संकल्प मिडिया सेन्टरद्वारा संचालित

निर्मला हत्याकाण्डः ‘प्रमाण नष्ट गर्न’ अभियुक्तहरुद्वारा घरमा रंगरोगन,

  •  
  •   १० भाद्र २०७५, आईतवार
  •  

कञ्चनपुर ९ भदौ – कञ्चनपुरकी किशोरी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि प्रहरीले मुख्य अभियुक्त भनिएका बबिता बम र रोशनी बम (आँचल) लाई पक्राउ गरिसकेको छ।

त्यसैगरी, गोप्य श्रोतका अनुसार निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्नका लागि प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टका छोरा र भीमदत्त नगरपालिका प्रमुखका भतिजालाई पनि प्रहरीले नियन्त्रण दिएको छ।

अनुसन्धानको क्रम चलिरहेका बेला घटनाका विषयमा नयाँ–नयाँ तथ्य बाहिर आइरहेका छन्। र, शुभदिनले गरेको स्थलगत अध्ययनका क्रममा निर्मला पढ्न गएको बमको घरका विषयमा पनि केही रहस्य सार्वजनिक भएको छ।

दुई तलाको पक्की घरमा बस्दै आएका बबिता र रोशनीका आमाबुवा निर्मलाको हत्या प्रकरणपछि सोही घरमा बस्न थालेका छन्। बबिता र रोशनीले घटनालगतै दार्चुलाबाट आमाबुवालाई भीमदत्त नगरस्थित घरमा बोलाएको बुझिएको छ। निर्मला साउन महिनाको १० गते सम्पर्कविहीन भइन्। र, ११ गते उनको शव करिब ७–८ सय मिटर टाढा रहेको उखुबारीमा भेटियो।

किन काटियो अम्बाको रुख?

साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न आएकी निर्मला अबेर साँझसम्म घर नपुगेपछि आमा दुर्गा छोरीलाई खोज्दै बम दिदीबहिनीको घर पुगिन्। तर, बम दिदीबहिनीले दुर्गालाई आफूहरुले ‘निर्मलालाई अम्बा खान दिएर पठाएको’ बताएका थिए।

त्यसपछि छोरी हराएको तनावमा परेको दुर्गाले छोरी हराएको खबर सुनाउँदा उल्टै बम दिदीबहिनीले दुर्व्यवहार गरे। उनले बम दिदीबहिनीले आफूलाई घरभित्र नै पस्न नदिएको र निर्मलाका बारेमा अपशब्द (अर्थात् निर्मला पोइल गई होला, उत्तै खोज्नु) प्रयोग गरी दिउँसो नै घर फर्किएकाले अन्तै खोज्न भनेको बताएकी छिन्।

त्यसपछि दुर्गा फर्केर घर जाँदा पनि छोरी भेटेपछि पुनः छिमेकीको साथमा बम दिदीबहिनीको घर आइन्। ‘निर्मला दिउँसो नै घर गइसकेको भनेर हामीले पहिले भनिसकेको सुन्नु भएन? तपाई यहाँबाट गइहाल्नुस् हामीलाई आरोप लगाउने काम नगर्नुस्’ भन्दै दोश्रो पटक पनि बम दिदीबहिनीले अभद्र व्यवहार गरेको पन्तले बताइन्।

साउन ११ गते बिहान उखुबारीनजिकै निर्मलाको साइकल फेला पर्यो। साइकल फेला परेपछि बबिताले निसंकोच ‘लास पनि त्यतै होला नि’ भनेपछि घटनामा संलग्नता र योजनाको विषयमा अरु केही भनिरहनु परेन। तर, अम्बाको रुखको किन काटियो भन्ने प्रश्नको उत्तर प्रहरीले कोट्याउँदै गर्दा निर्मलाको हत्यामा संलग्न अभियुक्तहरुको नजिक पुग्न पक्कै सहज हुनेछ।

प्रहरीका अनुसार बबिता र रोशनीको पोलीग्राफ परीक्षण हुनेछ। साथै एसपी डिल्लीराज बिष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजको विषयमा पनि प्रहरीले गम्भीर ढंगले अनुसन्धान प्रारम्भ गरेको जनाइएको छ।

घरमा रंगरोगन

भीमदत्त नगरपालिका–१८ मा रहेको बमको घरमा रंगरोगन गरिएको स्थानीयले शुभदिनलाई बताएका छन्। निर्मलाको हत्या प्रकरणपछि अझै शंकास्पद गतिविधिहरु बढेको स्थानीयले जनाएका छन्। स्थानीयबासीका अनुसार केही दिनअघि बम दिदीबहिनीले घरको भित्रीभाग रंगरोगन गर्न गरेका छन्।

‘यो प्रमाण नष्ट गर्ने खेल हुन सक्छ, निर्मलाको हत्याको योजना, शव लुकाउने प्रयास र अहिलेसम्मका सबै गतिविधि यही घरमा भएको हाम्रो आशंका छ’, स्थानीय एक अगुवाले भने – ‘यी दिदीबहिनीको चालचलन निको नभएकाले शंका गर्ने ठाउँ छ, अपराध गरेका छैनन् भने छुट्छन्, तर अपराध गरेको भए कडाभन्दा कडा कारबाही होस्।’

ती अगुवाले दशैंतिहार पनि नआएका बेला घरमा रंगरोगन गर्न आवश्यक नरहेको बताउँदै यसमा कुनै रहस्य लुकेकाले सुक्ष्म ढंगले अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन्।