संकल्प मिडिया सेन्टरद्वारा संचालित

नारायणकाजीसँग ओली र प्रचण्डले मागे स्पष्टीकरण, रिसाएर दिए राजीनामा,राजीनामा दिएर बैठककै बीचमा झोक्किएर बाहिरिए श्रेष्ठ

  •  
  •   १६ श्रावण २०७५, बुधबार
  •  

काठमाडौं, १६ साउन । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सत्तारुढ दलबीच चित्त बुझाउन प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले यसै साताभित्र मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कानून न्याय तथा संसदीय मामिला मन्त्रीको नियुक्ति, भूमि व्यवस्था तथा गरिबी निवारकमन्त्रीको बढुवा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ एकैपटक हुने महासचिव पौडेलले बताए । विवादास्पद अभिव्यक्तिका कारण शेरबहादुर तामाङले कानुनमन्त्रीबाट राजीनामा दिएपछि सो मन्त्रालय खाली छ ।
‘मन्त्रालयको जिम्मेवारी कसलाई के दिने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘तर टुंगो लाग्ने गरी पार्टीभित्र छलफल हुनसकेको छैन ।’ प्रधानमन्त्री एवं नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छिट्टै टुंगो लगाउने पौडेलले बताए ।
कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्रालय गरी चार मन्त्रालयलाई गाभेर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएको थियो । प्रधानमन्त्री ओलीले १० साउनमा साबिकको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर दुई मन्त्रालय बनाएका थिए ।
अब चक्रपाणि खनाल कृषि तथा पशुपक्षी मन्त्री मात्र हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई नयाँ गठन गरिएको भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बनाउने तयारी गरिएको छ । अर्याललाई राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गर्न लागिएको हो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बनेपछि अर्याललाई नयाँ मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।
संघीय समाजवादी फोरमबाट एक राज्यमन्त्री बन्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्याललाई अर्कै मन्त्रालयको जिम्मेवारी दिन लागिएपछि अब फोरमबाट राज्यमन्त्री थपिने भएको छ । फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको थियो ।
फोरमबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र सहकारी विकास मन्त्रीमा मोहमद इस्तियाक राई छन् । एक राज्यमन्त्रीका लागि तीनजना नेता दौडधुपमा लागेको फोरमका एक नेताले बताए । राज्यमन्त्रीका लागि प्रमिला यादव, डा। सुरेन्द्र यादव र प्रदीप यादव लबिङमा लागेका छन् । फोरममा मधेसी समुदायबाट मन्त्री भइसकेकाले जनजाति समुदायबाट राज्यमन्त्री बनाइनुपर्ने दबाब छ ।
नेकपामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । उनीहरूमध्येबाटै एकजना मन्त्री हुने सम्भावना देखिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ ३, पोखरेल चितवन २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका थिए । प्रधानमन्त्री ओलीसमक्ष जनजाति समुदायबाटै कानुनमन्त्रीमा बनाइनुपर्ने दबाब धेरै छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
पार्टी नीतिविपरीत डा गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए ।
‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए । अर्का अध्यक्ष प्रचण्डले पनि ‘पार्टीको जानकारीविना भेटेर गलत काम गरेको र उनको नाममा कांग्रेसको आन्दोलनलाई मलजल गरेको’ भन्दै ओलीको भनाइलाई समर्थन जनाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेको सचिवालयका एक नेताले बताए ।
दुवै अध्यक्षले पालैपालो स्पष्टीकरण सोधेपछि प्रवक्ता श्रेष्ठले ‘मैले किन भेट्न नपाउने ?’ भन्दै झोक्किएर राजीनामाको घोषणा गरेको र थोरै शब्दको राजीनामापत्र लेखेर बाहिरिएको एक नेताले बताए ।
‘त्यसो भए मलाई यो प्रवक्ता पद चाहिएन, मैले राजीनामा दिएँ भन्दै लिखित राजीनामापत्र बुझाएर उहाँ बैठकबाट बाहिरिनुभो,’ ती सचिवालय सदस्यले भने ।
‘मैले डा। केसी मूलतः सत्याग्रही हुनुहुन्छ र उहाँले उठाउनुभएको मूल मुद्दा सही छ, माथेमा प्रतिवेदनको मूल पक्ष सकारात्मक छ, हाम्रो पार्टीका नेता–कार्यकर्ताले पनि विनापूर्वाग्रह यसलाई आत्मसात् गरी वार्ताद्वारा समस्याको समाधान गर्नुपर्छ भन्दा तीव्र विरोध गर्नेलाई पनि अहिले धन्यवाद छ,’ प्रवक्ता श्रेष्ठले डा केसीलाई भेटिसकेपछि १० साउनमा ट्विटरमा लेखेका थिए ।
उनले तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङको विवादित भिडियो सार्वजनिक भएपछि पनि ‘तामाङले गलत काम गरेकाले माफी माग्नुपर्ने र पार्टीको ध्यानाकर्षण हुनुपर्ने’ भन्दै सामाजिक सञ्जालमा धारणा राखेका थिए ।