संकल्प मिडिया सेन्टरद्वारा संचालित

धोनीको भविष्य विराट कोहलीको हातमा

  •   काठमाडौं
  •   १५ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी

 भारतीय टिमका पूर्व कप्तान सौरभ गांगुलीले भारतीय टिमका अर्का पूर्वकप्तान महेन्द्र सिंह धोनीको भविष्यको विषयमा ठूलो बयान दिएका छन् । गांगुलीका अनुसार घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध ३ टि–२० सिरिजका लागि धोनी छनोट नभएकोमा उनलाई कुनै आश्चर्य छैन । गांगुलीका अनुसार अन्तर्राष्ट्रिय तहमा अब धोनीको भविष्य टिमका कप्तान विराट कोहली र टिम व्यवस्थापनको हातमा छ ।

गांगुलीले भने ‘टिममा धोनी छनोट हुन्छन् भन्ने मलाई आशा थिएन ।’ गांगुलीका अनुसार वेष्ट इण्डिज टुरका लागि ऋषभ पन्तलाई छनोट गरिनुले टिम व्यवस्थापन अब भविष्य हेर्दैछ भन्ने प्रस्ट हुन्छ । यो त्यस्तै हो जब धोनी युवा हुँदा उनलाई मौका दिइएको थियो । गांगुलीले अगाडि भने ‘धोनीको भविष्य निर्धारण गर्ने काममा विराट कोहली निकै अहम छन् । उनी धोनीसँग के कुरा गरिरहेका छन् यो भन्न मुस्किल छ र मलाई लाग्दैन कि यो विषयमा कोही बीचमा आएर आफ्नो बयान दिनुपर्छ ।’

गांगुलीले थपे ‘ मैले सधैं भनेको छु कि चाहे डिएगो म्याराडोना, पिट साम्प्रास, सचिन तेन्दुलकर, म वा धोनी जो कोही पनि त्यो अवस्थामा आउँछन् जब उसले यस्तो स्थितिको सामना गर्नुपर्छ ।’ ऋषभ पन्तको तुलना धोनीसँग गरिएको विषयमा गांगुलीले भने ‘पन्त एमएस धोनी होइनन् र अबको ३–४ वर्षमा बन्न पनि सक्दैनन् । धोनीलाई ‘द एमएस धोनी’ बन्न १५ वर्ष लाग्यो । उनी भारतीय क्रिकेटको खास जमातका हिस्सा हुन् ।’