त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

धरौटीमा रिहा भएलगत्तै प्रकाण्ड फेरि पक्राउ, भोजपुरबाट दाङ लगियो ।

  •  
  •   २० भाद्र २०७५, बुधबार
  •  

भोजपुर– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरेलगतै प्रहरीले पुन पक्राउ गरेको छ ।
ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ लाई ६० हजार धरौटीमा रिहा गरिएलगतै पुनः पक्राउ गरी दाङ लगिएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी केशब कुमार थेबेले प्रकाण्डलाई बुधबार अदालतबाट रिहापछि अदालत परिसरबाटै पुनः पक्राउ गरी दाङ लगिएको बताएका छन् ।
भोजपुरमा प्रकाण्डलाई टेम्के मैयुङ गाउँपालिकामा शेरधन राई चढेको गाडीमा बम विष्फोट गराइएको आरोपमा ज्यान मार्ने लगायतका मुद्दा दायर भएको छ । उनलाई राई चढेको गाडीमा बम विष्फोट गराएको, षडानन्द नगरपालिका १३ तीन
तले भिरथाप्लामा भएको बम विष्फोट गराएको र साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा बाम गठबन्धनको चुनावी सभामा बम विष्फोट गराएको भन्दै मुद्धा दायर भएको छ । ती तीनवटै मुद्धामा क्रमशः २५, २५ र १० हजार गरी ६० हजार नगद धरौटीमा रिहा गरिएको जिल्ला अदालत भोजपुरका सुचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए ।
विष्फोटमा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) डिल्ली देवकोटा घाईते भएका थिए । राईसहित पार्टी कार्यकर्ता चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डरोवर जीप विष्फोटमा परेर क्षतिग्रस्त बनेको थियो । विष्फोटपछि असई देवकोटाले २१ राउण्ड जवाफी फाईरिङ समेत गरेका थिए ।
यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्धा चलाइएको थियो । उनीसहित ‘विप्लव’नेतृत्वको नेकपाका उच्च तहका नेताहरु पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकी लगायत विरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको अदालतले जनाएको छ । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलिपल्ट उनलाई मोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राती सवा ११ बजे भोजपुर ल्याइएको थियो ।

थप