संकल्प मिडिया सेन्टरद्वारा संचालित

डा. भक्तमान श्रेष्ठलाई एक वर्ष कैद, भ्रष्टाचारको मुद्दामा दोषी ठहर।

  •  
  •   १३ कार्तिक २०७५, मंगलवार
  •  

१३ कात्तिक, काठमाडौं । विशेष अदालतले डा. भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ । अदालतले श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई भने सफाइ दिएको छ ।
श्रेष्ठ चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष थिए । विशेषज्ञ चिकित्सकका रूपमा २०५४ सालमा सेवा प्रवेश गरेका श्रेष्ठ २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएका थिए ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले दोषी ठहर गरेको हो । मंगलबार इजलासले श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७७६ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुन २ गतेका दिन डा. श्रेष्ठ विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा हालेको थियो । क्यान्सर अस्पतालको अध्यक्ष रहँदा उनले १ करोड ६७ लाख ५७ हजार ११३ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको भन्दै चलाइएको थियो ।
इजलासले श्रेष्ठको अवैध रुपमा आर्जन गरेको सम्पत्ति बराबरको सम्पत्ति जफत हुने फैसला समेत सुनाएको छ । विशेष अदालतका अनुसार श्रेष्ठको ४८ लाख ९० हजार ३३७ रुपैयाँ बैध सम्पत्ति देखिएको छ भने बाँकी १ करोड १८ लाख ६६ हजार ७७६ रुपैयाँ अवैध सम्पत्ति रहेको ठहर गर्दै यो बराबरको सम्पत्ति जफत हुने फैसला सुनाएको छ ।